आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । मे १ तारिखका दिन मनाउने अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन अधिकार स्थापित भएको दिनका रूपमा यो दिवस मनाउने गरिएकाे हाे । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ काे नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएकाे हाे । नेपालमा २००७ सालमा विराटनगरमा भएकाे मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
बि. सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा मे १ तारिख अर्थात श्रमिक दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो भने अहिले पनि याे दिवसका दिन सार्वजनिक बिदा दिने गरिएकाे छ ।