श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । उनले सभामुखलाई संसदको नियमावली र संविधानअनुसार आवश्यक रुलिङ गर्न आग्रह गर्दै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष राईले प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र साहलाई संसदप्रति उत्तरदायी र जबाफदेही बनाउनुपर्नेमा जोड दिँदै उनले संसद सञ्चालनका क्रममा संविधान र नियमावलीमा व्यवस्था भएका प्रावधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री पनि संसदकै सदस्य भएकाले सदनप्रति उत्तरदायी बन्नुपर्ने उनको भनाइ रहेकाे थियाे । अध्यक्ष राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन समेत माग गरेका छन् ।
उनले सभामुखले रुलिङ गरेर प्रधानमन्त्री ल्याउनुपर्ने भन्दै सभामुखकाे रुलिङ प्रधानमन्त्रीले पनि मान्नुपर्ने बताएका थिए । प्रधानमन्त्री पनि प्रतिनिधिसभाको सदस्य भएकाले सदनलाई विधिको माध्यमबाट चलाउन अनुरोध गरेका थिए । साथै नियमावलमिा भएका नियम, उपनियम र संविधानका धाराअनुसार चल्नु पर्ने भन्दै प्रधानमन्त्री सफल भएमात्रै यो सरकार सफल हुने धारणा राखेका थिए ।
उनले सीमाको विषयमा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग समेत गरेका छन् ।