जङ्गलमा लुकाएर राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक बरामद भएकाे छ । म्याग्दीको रघुगंगा गाउँपालिका-७, चिमखोलाको फेदीवन जंगलबाट उक्त भरुवा बन्दुक बरामद भएको हाे ।
अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार वन्यजन्तुको अवैध चोरी–सिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेकाे हाे ।
प्रहरीले २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १५० थान इजाजत नभएका बन्दुक बरामद गरेकाे छ । प्रहरीले ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी–सिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको थियाे ।
यसरी अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था भएपनि इजाजत नलिई हातहतियार राखेमा ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेकाे छ ।