फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा स्विडेनमाथि ३-० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी (मेटलाइफ) रंगशालामा भएको खेलमा फ्रान्सले स्विडेनमाथि ३-० गाेलकाे जित निकालेकाे हाे ।
फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट चरणमा पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छ । फ्रान्सकाे जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए । उनले पहिलो हाफको अन्तिम समय ४५औँ मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको ५३औँ मिनेटमा फ्रान्सका लागि युवा विङ्गर ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए भने खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३-० को जित निकालेकाे हाे ।
विश्वकपको अन्तिम ३२ को समीकरणअन्तर्गत भएको अर्को रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।