अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेकाले देशकाे विभिन्न भागकाे माैसममा परिवर्तन आएकाे छ । जसकाे कारण कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशकाे माैसम बदली भएकाे छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका साथै तराई भू-भागकाे माैसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाे छ ।
त्यसैगरि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको र मधेश, कोशी र बागमती प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
आज राति देशभर साधारणतया बदली हुनुका साथै देशकाे हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश, कर्णाली र बागमती प्रदेशका केहि स्थानमा वर्षाकाे सम्भावना रहेकाे छ ।
त्यस्तै कोशी र गण्डकी प्रदेश तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।