साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गाेलले पराजित गरेको छ । याे सँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
अमेरिकाको एटलान्टास्थित स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई फाइनल नजिक पुर्याएका थिए ।
खेलकाे अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए ।
त्यसपछि इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा कप्तान लियोनल मेसीको उत्कृष्ट असिस्टलाई सदुपयोग गर्दै लाउतारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकालेकाे हाे ।
याे जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाउँदै उपाधि दाबेदार गर्ने अवसर सिर्जना गरेको छ । अब उपाधिका लागि आइतबार अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने आज पराजित इङ्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।