हरेक वर्ष झैँ आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरु पूर्णिमा पर्व मनाइँदैछ । गुरुहरु प्रति सम्मान भाव प्रकट गर्दै याे पर्व मनाउन लागिएकाे हाे ।
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुहरुप्रति सम्मान भाव प्रकट गर्दै मनाइने गुरु पुर्णिमासँगै तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ, अर्थात् ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई गुरु मानिन्छ ।
गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत तुलना गरिन्छ भने आमाबाबु जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भन्ने वैदिक परम्परा रहेको छ । यस अवसरमा आज देशभरका विद्यालय, गुरुकुल, शिक्षालय तथा विभिन्न संघसंस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरी शिक्षा र दीक्षा दिने गुरुहरूका योगदानको स्मरण गर्दै श्रद्धाभाव व्यक्त गरिन्छ ।
गुरु पूर्णिमासँगै आजकाे दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरि १८ पुराण र १८ उपपुराणको रचना गर्ने महर्षि वेदव्यासको जन्मजयन्ती पनि मनाइन्छ ।
महर्षि वेदव्यासले अरूको उपकार गर्नु धर्म हाे भने अरूलाई पीडा दिनु पाप हाे भन्ने सन्देश दिएर पाँचौं वेद मानिने प्रसिद्ध ग्रन्थ महाभारतको गुरु पूर्णिमा रचना गरेकाे बताइएकाे छ ।