गएराति प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब १ घण्टा छलफल भएको हो ।
सभापति लामिछाने र बालेनबिच पछिल्लो समय दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरूबिच पार्टी र सरकारबिच समन्वयका विषयमा कुराकानी केन्द्रित भएको लामिछाने निकट एक नेताले जानकारी दिएका छन् ।
पछिल्लो समय अनेकौँ मुद्दामा बालेन र रविबिच समस्या देखिँदै आएको छ भने रवि पक्षले बालेन सचिवालयको घेरामा सीमित रहेको आरोप लगाउँदै आएको छ । रविनिकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन् ।
नागरिककाे जनजीविकाको सवालमा सरकारले ठिकसँग काम गर्न नसकेको सांसदहरूको भनाइ रहेकाे छ । त्यस्तै पार्टी सभापति लामिछानेले नै सरकारले गडबडी गरे कानमा समातेर ट्रयाकमा ल्याउने अभिव्यक्ति दिएका छन् ।
उता बालेन पक्ष भने रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरेका कारण रुष्ट बनेकाे छ । गत शुक्रबार राति प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘एक्लिएको’ संकेत गरेका थिए । रवि र बालेनबीचकाे पछिल्लो भेटलाई बढ्दो तिक्तता मेट्ने प्रयासका रुपमा हेरिएको छ ।