आज विश्व लामखुट्टे दिवस मनाइँदै छ । ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरि याे दिवस मनाइँदै छ ।
यो दिवस लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन मनाउने गरिन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्ने गर्दछ ।
नेपालमा अहिलेसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना मानिस प्रभावित भएका थिए ।
पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम उच्च बन्दै गएकाे छ । विभागले सात वटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको छ ।
पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको किट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालले जनाएका छन् ।