काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारको आधिकारिक राहत कोषमा १० लाख रुपैयाँ सहयोग जम्मा गरेको छ।
गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंको अध्यक्षतामा बसेको बैठकले देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परेका पीडितहरूको घाउमा मलम लगाउन र सरकारी राहत कोषलाई सुदृढ बनाउन सो रकम जम्मा गर्ने निर्णय गरेको हो।गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंका अनुसार विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूलाई तत्काल राहत र पुनस्र्थापनाको आवश्यकता परेकाले स्थानीय सरकारको तर्फबाट मानवीय दायित्व वहन गर्दै उक्त सहयोग उपलब्ध गराइएको हो। प्राकृतिक विपद्को समयमा नागरिकको जीवन रक्षा र राहत कार्यमा सबैको सहकार्य आवश्यक छ, हाम्रो यो सानो सहयोगले पीडित परिवारको उद्धार र व्यवस्थापनमा केही राहत पुग्ने विश्वास लिएका छौं, अध्यक्ष चौलागाईंले भन्नुभयो। गाउँपालिकाले विपद् व्यवस्थापन र राहत कार्यमा सरकारको प्रयासलाई थप प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट निरन्तर ऐक्यबद्धता र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग