नेपाली कांग्रेसको १५ औं महाधिवेशबाट उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।
खुलातर्फ चन्द्र भण्डारी सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भएका हुन् । त्यसैगरि मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापति पदमा जित हासिल गर्दा समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
खुलातर्फ उपसभापति पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका थिए ।
त्यस्तै समावेशी उपसभापति पदमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका थिए ।
महिला उपसभापति पदमा पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् भने वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा पनि निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था रहेकाे छ ।