बाँके जिल्लास्थित जानकी गाउँपालिकामा संचालिन अम्बे स्टील उद्योगमा आगलागी भएको छ । उक्त उद्योगमा रहेको फलाम गलाउने भट्टीबाट आगलागी सुरु भएकाे हाे ।
आगो नियन्त्रणका लागि तीनवटा दमकल परिचालन गरिएको थियाे भने उक्त आगलागीमा ७ जना घाइते भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत घटनास्थलमा पुगेर आगो नियन्त्रण तथा उद्धार कार्यमा खटिएका थिए ।
आज बिहान साढे ४ बजे उद्योगमा अचानक लागेको प्रहरीले जनाएकाे छ । आगलागीमा घाइते ७ जना कामदारलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको छ । जानकी गाउँपालिका–५ निवासी २८ वर्षीय शिवप्रसाद चमारको दुवै हात र अनुहार जलेको छ भने २४ वर्षीय प्रेम धोबीको दुवै खुट्टामा चोट लागेका बताइएकाे छ ।
त्यसैगरि २९ वर्षीय दिलीप कुमार यादवका दुवै हात जलेको र ३५ वर्षीय लक्ष्मीराम यादवको दाहिने हात, बायाँ खुट्टा र ढाडमा चाेट लागेको छ । भारतको बहराइच जिल्ला कठौतिया निवासी २९ वर्षीय राजकुमार निषादको खुट्टामा चोट लाग्नुका साथै २४ वर्षीय शिवकुमार निषादको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेकाे छ भने २५ वर्षीय विनोदकुमार निषादको ढाडमा चोट लागेकाे प्रहरीले जनाएकाे छ ।
आगलागीमा घाइते भएका कामदारको सङ्ख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण आइनसकेकाे तथा आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरणसमेत खुल्न नसकेको बताइएकाे छ ।