नेपाल र बंगलादेशलाई संयुक्त राष्ट्रसंघको महासभाले अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा बसेको ८१औँ महासभाको बैठकले उक्त निर्णय गरेको हो । महासभामा प्रस्ताव नम्बर ८१÷एल.८ सर्वसम्मतिले पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि निर्धारित तयारी अवधि थप गर्ने निर्णय गरिएको राष्ट्र संघको लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
राष्ट्र संघको यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ । नेपालले यस अवधिलाई उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने जनाएको छ ।
नेपालले स्तरोन्नतिपछिको सहज संक्रमण सुनिश्चित गर्न तयार पारिएको सहज संक्रमण रणनीति (स्मुथ ट्रान्जिसन स्ट्राटेजी), दिगो विकासका लागि सन् २०३० को कार्यसूची तथा दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनेछ ।
उक्त थप अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली नियोगले उक्त निर्णयका लागि संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति निरन्तरको सहयोग, ऐक्यबद्धता र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ ।