नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार पर्व मनाइँदै छ । घरघरमा सुरक्षा गर्ने कुकुरकाे पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार पर्व मनाउन लागिएकाे हाे ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक विश्वास रहेकाे छ ।
त्यस्तै कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा समेत लिइन्छ भने घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।
त्यस्तै आज साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी लक्ष्मीपूजा गरेर दीपावली मनाइँदै छ ।