Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रामजानकी विवाह महोत्सवका लागि अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

- shuvadmin / मङ्गलबार, मङि्सर १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

महोत्तरी, जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ ।

भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो ।

मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल) का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी थिए ।

यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो ।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ ।

नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन् ।

मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ ।

राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउँछन् ।

अयोध्याबाट आएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताए ।

सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।

जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उनका माइती र मिथिलावासीका कुटुम्ब मानिन्छन् ।

मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ ।

यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।

आज मटिहानीबाट जन्ती जलेश्वर जानेछन् । जलेश्वर नगरवासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीलाई आज महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ ।

मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन् ।

जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने जनाइएको छ । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन् ।

सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ ।

महोत्सवको दोस्रो दिन सोमबार ‘फूलबारी लीला’ सम्पन्न भएको छ । ‘जनकपुर नगर दर्शन’ र ‘फूलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नुभएको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन् ।

यसैगरी तेस्रो दिन आज धनुषयज्ञ आयोजना हुँदैछ । आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ ।

यसैगरी चौथो दिन तिलकोत्सव ( दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि) , छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन् । रामकलेवा जन्ती बिदाइ गरिने विधि हो ।

यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ ।

अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो ।

रासस

Page Views: 131
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama