काठमाण्डू, स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन्। सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको माग सम्बोधन गर्न नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने उल्लेख थियो।
तर, सरकारले हालसम्म सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन्।
स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका प्रवक्ता प्रवीण थारुले मोही किसानहरुलाई मोही पूर्जा प्राप्त भएपनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताए।
उनले सरकारले आफुहरुसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने उल्लेख गरे।
काठमाडौँको आन्दोलनमा पनि सुनुवाइ नभए दाङ फर्केर शान्तिपूर्णदेखि सशक्त र दाङ बन्दसम्मका कार्यक्रम गर्ने तयारी पनि भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले चेतावनी दिएको छ।
स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ। मोही कायम भएको जग्गाको स्वामित्व आफुहरुले पाउनुपर्ने मोही किसानको माग छ।