काठमाण्डू, नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा केन्द्रीय नेतृत्वका लागि अघि सरेको वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र नेतृत्वको टोली आइतबारदेखि मेची–महाकाली अभियानमा निस्केको छ।
मिश्र नेतृत्वको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले अभियानको पहिलो चरणमा सुदूरपश्चिमका कानून व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिनेछ।
पहिलो कार्यक्रम आइतबार कञ्चनपुरको महेन्द्रनगरमा हुनेछ। त्यसपछि टोली धनगढीतिर लाग्नेछ।
कैलाली र कञ्चनपुरका अधिवक्ताहरूसँग महेन्द्रनगरमा अन्तरक्रिया गरी उनीहरूको समस्याबारे छलफल गरिनेछ।
‘देशका विभिन्न स्थान पुगेर हामीहरुले साथीहरुका कुरा सुन्ने, बुझ्नेछौै’ अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले अभियान सुरु हुनुअघि काठमाडौंमा भने, ‘यस्ता खालका अन्तक्रियाले हामीलाई मार्गनिर्देश गर्ने अपेक्षा लिएका छौं।’
न्याय प्रणाली सुधार र अधिवक्ताहरूका हकहित रक्षा मुख्य एजेन्डा
वरिष्ठ अधिवक्ता प्रा।डा। विजयप्रसाद मिश्र नेतृत्वको समूह न्याय प्रणालीको सुधार, स्वतन्त्रता सुनिश्चित गर्ने, अधिवक्ताहरूको पेशागत हकहितको रक्षा, बार एसोसिएसनलाई प्रविधिमैत्री, पारदर्शी, सक्षम बनाउने तथा न्यायिक सेवा प्रभावकारी र सहज बनाउने प्रमुख एजेन्डासहित देशव्यापी दौडाहामा रहेको छ।
अध्यक्षका उम्मेदवार मिश्रले भने, ‘नेपालको न्याय प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र सहज बनाउनका लागि कानूनी व्यवसायीहरूको भूमिका महत्वपूर्ण छ।
हाम्रो समूह अधिवक्ताहरूका अधिकार सुनिश्चित गर्दै न्यायिक सुधारका लागि काम गर्न प्रतिबद्ध छ।’
मिश्र नेतृत्वको समूहले बार एसोसिएसनलाई राजनीतिक प्रभावबाट मुक्त गरी पेशागत एजेन्डामा केन्द्रित बनाउने, कानूनी व्यवसायीहरूको अर्थिक सशक्तीकरणका लागि सामाजिक सुरक्षा योजना लागू गर्ने, तथा नयाँ प्रविधिहरू प्रयोग गरी न्यायिक प्रक्रियालाई सरल बनाउने जस्ता एजेन्डा अघि सारेको छ।
महासचिवका उम्मेदवार केदार प्रसाद कोइरालाको प्रतिबद्धता
महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले मिश्र नेतृत्वको समूह निर्वाचित भएपछि बार एसोसिएसनलाई अझ प्रभावकारी, उत्तरदायी, र कानूनी व्यवसायीहरूको सशक्त संस्था बनाउने प्रतिबद्धता जनाए।
उनले भने, हामी अधिवक्ताहरूको सम्मान, पेशागत सुरक्षाको प्रत्याभूति र न्याय प्रणालीको मजबूतीका लागि काम गर्छौ। बार एसोसिएसनलाई सुधार गर्दै नयाँ युगतर्फ लैजाने हाम्रो संकल्प छ।’
न्याय प्रणाली सुधारको महत्त्वपूर्ण मोड
नेपाल बार एशोसिएशनको निर्वाचन यही चैत्र २३ गते हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा मिश्र नेतृत्वको समूहको यो सक्रियता न्याय क्षेत्रमा नयाँ बहसको विषय बनेको छ।
अहिले देशभरका कानूनी व्यवसायीहरू न्यायिक प्रणालीलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफलमा छन्।
मिश्र नेतृत्वको अभियानले न्यायिक सुधार, पेशागत हकहित र प्रविधिमैत्री न्याय प्रणाली निर्माणको बहसलाई तिव्रता दिएको छ।