काठमाण्डू, सौर्य एअरलाइन्सको विमान तौल र स्पिडको सन्तुलन नमिल्दा दुर्घटना परेको अनुसन्धानमा देखिएको छ ।
‘सी–चेक’का लागि २०८१ साउन ९ साउनमा पोखरा लैजाँदै गर्दा जहाज टेकअफ लिनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।
दुर्घटनामा एकजना पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पाँच सदस्यीय विमान दुर्घटना अनुसन्धान आयोगले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार विमान धावनमार्गबाट टेकअफ गर्दा तौल र स्पिडको सन्तुलन नमिलेको पाइएको हो ।
जहाजले टेकअफ गर्दा नै सन्तुलन गुमाएको प्रतिवेदनमा उल्लेख छ । साथै, यात्रु र सामान व्यवस्थापनमा पनि गम्भीर लापरबाही भएको पनि पाइएको छ ।
यसअघि छानबिन समितिले पनि तौलको सन्तुलन नमिल्दा विमान खसेको निष्कर्ष निकालेको थियो ।