काठमाण्डू, बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
कांग्रेस बागमती प्रदेशसभाका सदस्य बिमल ठकुरीले कांग्रेस र एमालेको गठबन्धनअनुसार सरकार बनाउन दाबी गरिएको बताए ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यी दुई दलको गठबन्धनसँग स्पष्ट बहुमत छ ।
बानियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।
यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद मुख्यमन्त्री हुने व्यवस्था छ ।
यसअघिका मुख्यमन्त्री कांग्रेसकै बहादुरसिंह लामाले कांग्रेसभित्रको आन्तरिक विवादमा संसदीय दलमा विश्वास गुमाएका थिए ।
संसदीय दलको नेतामा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो ।
त्यसपछि नयाँ संसदीय दलको नेताको चुनावमा पनि उनी पराजित भएका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा दिन सुझाएका थिए ।
लामालाई संसदीय दलको नेतामा पराजित भएका बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
आजै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।