काठमाण्डू, पछिल्लो २४ घण्टामा दाङमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा दाङका केही स्थानमा अति भारी वर्षा भएको हो ।
दाङको जलकुण्डी वर्षामापन केन्द्रमा २४८ मिलिमिटर, अम्बापुरमा २०६.६ मिलिमिटर वर्षा भएको छ ।
बाँकेको सिक्टामा २११.८ मिलिमिटर वर्षा मापन गरिएको विभागले बताएको छ ।
“अहिले देशभरीका विभिन्न जिल्लामा पानी पर्ने क्रम जारी छ,” विभागले भनेको छ, “ठूलो पानी परेका क्षेत्रका बासिन्दाहरूले आवश्यक सतर्कता अपनाउनु पर्नेछ ।”
गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
“लुम्बिनी प्रदेशका धेरै स्थानमा अहिलेसम्म भारीदेखि धेरै भारी वर्षा भइसकेको छ । अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” मौसमविद् अर्यालले भने, “कोसी र वाग्मतीका धेरैजसो पहाडी भू-भागमा पनि वर्षा भइरहेको छ ।”
काठमाडौंमा पनि २४ घण्टामा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “अहिलेलाई काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तर, लामो समय वर्षा भयो भने २४ घण्टामा भारी वर्षा मापन पनि हुनसक्छ,” उनले भने ।