काठमाण्डू, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. बद्री रिजाल नियमविपरीत एक निजी अस्पतालको सञ्चालक रहेको पाइएको छ ।
ट्रमा सेन्टरमा कार्यालय प्रमुख समेत रहेका रिजाल काठमाडौंको सामाखुशीस्थित अल नेपाल हस्पिटल प्रालिको सञ्चालक रहेको खुलेको हो ।
डा। रिजाल नेपाल सरकारको ११औं तहका कर्मचारी हुन् । प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रिजाल नेपाल मेडिकल एसोसिएसनका पूर्वमहासचिव एवं वर्तमान उपाध्यक्ष पनि हुन् ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ११२, निजामती ऐन, २०४९ दफा ४८ अनुसार कुनै पनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार–सञ्चालन गर्न नपाउने कानूनी प्रावधान छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १४ मा कुनै पनि राष्ट्र सेवक आफ्नो वा अरूको नाममा कुनै कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसुरबमोजिम कारबाही हुने उल्लेख छ ।
उक्त कानूनी प्रावधानविपरीत डा। रिजाल निजी अस्पतालको सञ्चालक रहेको पाइएको हो ।
अस्पतालले विभिन्न समयमा कम्पनी रजिस्ट्रार कार्यालयमा पेश गरेको शेयर लगत विवरणमा पनि रिजाल उक्त हस्पिटलको सञ्चालक रहेको उल्लेख छ ।
कम्पनी रजिस्ट्रार कार्यालयमा २०६८ साल भदौ १९ गते दर्ता भएको अल नेपाल हस्पिटल प्रालिको दर्ता नम्बर ८६२२१ हो ।
२०७७ असार ९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाइएको शेयर लगतमा डा. बद्री रिजालको शेयर संख्या १,१२,२१४ देखि २,१५,६८० सम्म जम्मा १,०३,४६६ कित्ता रहेको उल्लेख छ । प्रतिकित्ता सय रुपैयाँका दरले शेयर रकम १ करोड ३ लाख ४६ हजार ६ सय रूपैयाँ रहेको शेयर लगतमा जनाइएको छ ।
उक्त शेयर लगत विवरणमा रिजालसहित हरिबहादुर कुँवर, चिरञ्जीवी नेपाल, डा। विकास रायमाझी र प्रकाश रिजाल रहेको उल्लेख छ ।
रिजाल २०७८ सालमा उक्त हस्पिटलको अध्यक्ष नै रहेको शेयर लगत विवरणबाट देखिन्छ । २०७८ फागुन १४ गते उनकै अध्यक्षतामा वार्षिक साधारण सभा बैठक समेत भएको देखिन्छ ।
त्यसैगरी, २०८० असार १६ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाइएको शेयर दर्ता किताबको लगतमा ९०,००१ देखि २,४३,४६६ सम्म १,५३,४६३ कित्ता शेयर उनको रहेको उल्लेख छ ।
उक्त कित्ताको शेयर रकम १ करोड ५३ लाख ४६ हजार ६ सय रूपैयाँ रहेको लगतमा उल्लेख गरिएको छ ।
त्यसपछि २०८० पुस ९ गते बसेको अर्को सञ्चालक समिति बैठकमा पनि उनले सञ्चालककै रूपमा हस्ताक्षर गरेका छन् ।
नलराज पौडेल अध्यक्ष र रिजालसँगै प्रदीप कोइराला सञ्चालक रहेको माइन्युटमा उल्लेख गरिएको छ ।
शेयरको नामसारी दाखिला गर्ने, संशोधित शेयर लगतलाई समर्थन गर्ने र शेयर कित्ता मिलान गरी संशोधित शेयर लगत कायम गर्ने प्रस्ताव उक्त बैठकमा गरिएको बैठकको माइन्युटमा उल्लेख छ ।
२०८० माघ १४ गते बसेको बैठकमा पनि उनले सञ्चालककै रूपमा हस्ताक्षर गरेका छन् । वार्षिक साधारण सभा बैठकमा गरिएका ती प्रस्तावहरूमाथि २०८० फागुन ४ गते निर्णय भएको थियो ।
त्यसपछि २०८१ जेठ ८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा पेश गरिएको सञ्चालक लगतसम्बन्धी विवरणमा रिजाल कम्पनीको सञ्चालक रहेको उल्लेख छ ।
त्यस विवरणमा रिजाल २०८१ फागुन ४ देखि २०८३ फागुन ३ गतेसम्मका लागि सञ्चालक रहेको उल्लेख गरिएको छ ।
रिजालको नागरिकता नम्बर २०७२२ (रुपन्देही) रहेको तथा उनको शेयर ००१ देखि ३६५९३२ सम्म जम्मा ३ लाख ६५ हजार ९३२ कित्ता रहेको उल्लेख गरिएको छ ।
उक्त शेयरको मूल्य ३ करोड ६५ लाख ९३ हजार २ सय रूपैयाँ रहेको जनाइएको छ । २०८१ सालमा उनको शेयरको मूल्य दुई गुणाभन्दा बढी पुगेको देखिन्छ ।
उक्त हस्पिटलमा कश्यप इन्कोर्पोरेसन प्रालि टोखा(१० को नाममा ३ करोड ५३ लाख ७३ हजार ९ सय रूपैयाँको, पोखरा महानगरपालिका-५ का प्रदीप कोइरालाको नाममा १ करोड ६६ लाख ८० हजार २ सय रूपैयाँको, मौसमकुमार श्रेष्ठको नाममा १ करोड २८ लाख ४० हजार ८ सय रूपैयाँको शेयर रहेको उल्लेख छ ।
त्यसैगरी, अनिता पाठकको नाममा ९९ सय लाख रूपैयाँको, सुजित कोइरालाको नाममा ८७ लाख ५० हजार रूपैयाँको , प्रकाश रिजालको नाममा २६ लाख ४६ हजार ६ सय रूपैयाँको, सिता कोइरालाको नाममा २५ लाख रूपैयाँको शेयर रहेको उल्लेख छ ।
त्यसैगरी, सुनिता कोइरालाको नाममा १४ लाख २७ हजार ९ सय रूपैयाँको, सिर्जना कोइरालाको नाममा १२ लाख ५० हजार रूपैयाँको, रजनी शर्माको नाममा ६ लाख ५ सय रूपैयाँको, शकुन्तला पौडेलको नाममा ५ लाख ९४ हजार ९ सय रूपैयाँको शेयर रहेको देखिन्छ ।
त्यसपछि २०८१ पुस २६ गते बसेको वार्षिक साधारण सभा बैठकमा रिजाल सहभागी भई सञ्चालकको रूपमा हस्ताक्षर गरेका छन् ।
नलाराज पौडेल अध्यक्ष, डा. रिजाल, प्रदीप कोइराला र मौसमकुमार श्रेष्ठ सञ्चालक भई कुल १२ जना शेयर धनी रहेको वार्षिक साधारण सभाको माइन्युटमा समेत उल्लेख छ ।
लेखापरीक्षण प्रतिवेदनसहित २०८० साउन १ देखि २०८१ असार ३१ सम्मको नाफा नोक्सानको हिसाबमाथि छलफल गरी लेखा परीक्षकको प्रतिवेदन पास गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने विषयमा साधारण सभा बसेको माइन्युटमा उल्लेख छ ।
मेसु डा. रिजालले आफू कार्यालय समयबाहेक उक्त अस्पतालमा चिकित्सकको रूपमा काम गरिरहेको स्वीकारे ।
‘म त्यहाँ कागजमा सञ्चालक रहे पनि वास्तवमा त्यहाँ काम गरेबापत पैसा नदिने हुनाले पारिश्रमिकबापत शेयर दिने चलन छ,’ रिजालले भने, ‘मैले पैसा हालेर शेयर लिएको होइन । बिहान–बेलुका काम गरेबापत शेयर दिएका हुन् ।
निजी अस्पतालमा काम गर्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरूले स्वास्थ्य मन्त्रालयबाट सहमति लिनुपर्ने हुन्छ ।
तर, उनले त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट सहमति नलिएको स्वीकारे ।
‘मैले २०७० सालतिर नै निजी अस्पतालमा सरकारी कार्यालय समय बाहेक काम गर्न पाउनका लागि स्वास्थ्य मन्त्रालयमा आवेदन दिएको थिएँ,’ उनले थपे, ‘तर, स्वास्थ्य मन्त्रालयमा त्यस विषयमा केही निर्णय नै हुन सकेको छैन । सहमतिका लागि दिइएको आवेदन फाइल पनि होल्ड भएको छ ।’
कर्मचारी भर्नामा आर्थिक लेनदेनको आरोप
ट्रमा सेन्टरका प्रमुख रिजालले गत हप्ता मात्रै १ दर्जनभन्दा बढी कर्मचारी विना दरबन्दी भर्ना गरेको पाइएको छ ।
हेल्थ असिस्टेन्टमा करिना गिरी, पूजा चौधरी, उपेन्द्र धामीलगायत ५ जना, मेडिकल अफिसरहरू डा. नेहा ठाकुर, डा. अफ्रिदी सिद्धिगी, डा। सुरजकुमार झा, डा. प्रभात शाह, डा. पूजा यादवलागयत ९ जनाको नियुक्ति भएको ट्रमा सेन्टरका एक कर्मचारीले बताए ।
त्यसैगरी, स्टाफ नर्समा १० जना र ल्याबमा ४ जना कर्मचारीहरू भर्ना गरिएको ती कर्मचारीले बताए ।
‘भर्ना गरिएका कर्मचारीहरूबाट प्रतिव्यक्ति ३ देखि ५ लाख रूपैयाँसम्म असुल गरिएको बाहिर हल्ला छ,’ ती कर्मचारीले भने, ‘पैसा असुलेर नै नियुक्ति दिइएको भन्ने हल्ला व्यापक छ, तर पैसा दिनेले दिएको र लिनेले पनि लिएको भन्दैनन् । पुष्टि गर्न गाह्रो छ ।’
त्यति मात्र होइन, स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएर आएकाहरूसँग पनि रकम असुल गर्ने गरिएको उनले बताए ।
त्यस विषयमा छानबिन गर्न माग गर्दै ट्रमा सेन्टरका कर्मचारीहरूले २०८२ साउन १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी नै दिएका छन् ।
स्वास्थ्य सचिवलाई सम्बोधन गर्दै दर्ता भएको उक्त उजुरीमा डा. रिजालले आर्थिक लेनदेन गरी विना दरबन्दी नियुक्त गरेको भन्दै छानबिन गर्न माग गरिएको छ ।
उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा पनि दायर गरिएको छ ।
ट्रमा सेन्टर हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत छ । वीर अस्पतालको इमर्जेन्सी शाखाको रूपमा स्थापित इमर्जेन्सी एन्ड ट्रमा सेन्टर अहिले सेन्टरका रूपमा सञ्चालित छ ।
ट्रमा सेन्टरको व्यवस्थापन समितिको अध्यक्ष प्रतिष्ठानको रजिस्ट्रार हुने भएपनि डा. रिजालले रजिस्ट्रारबाट टिप्पणी सदर नगरी कर्मचारी नियुक्ति गरेको कर्मचारीहरू बताउँछन् ।
त्यति मात्र होइन, ट्रमा सेन्टरको आर्थिक कारोबारसम्बन्धी फाइलहरू पनि रिजालले रजिस्ट्रारकोमा नलैजाने गरेको प्रतिष्ठानका एक पदाधिकारीले बताए ।
यता रिजालले भने आवश्यकताबमोजिम अस्थायी, दैनिक ज्यालादारी तथा करारमा ६र६ महिनाका लागि भर्ना गर्ने विगतदेखिकै अभ्यास बमोजिम नियुक्ति दिइएको जिकिर गरे ।
‘६ महिनामा ५ लाख रूपैयाँ कमाउन नसक्नेबाट ३ लाखदेखि ५ लाख लियो भन्नु पनि विश्वसनीय हुँदैन होला,’ रिजालले भने, ‘कसैले लिएको वा कसैले दिएको छ भन्ने कुरा आयो भने म आफ्नो प्रोफेसन नै छाडिदिन्छु ।’
रिजाल कर्मचारी मात्र हुँदा पनि छानबिन
डा. रिजाल ट्रमा सेन्टरमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुनुअघि अर्थोसर्जन चिकित्सकको रूपमा मात्र कार्यरत हुँदा पनि उनीमाथि विभिन्न आरोप लागेको थियो ।
ट्रमा सेन्टमा भर्ना हुने बिरामीलाई अपरेसनका लागि प्रयोग हुने सामान (इम्प्लान्ट डिभाइस) असामान्य मूल्यमा भिडाएर ठगी गरेको भन्दै २०७६ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उजुरी परेको थियो ।
२०७६ असार ४ गते प्रधानमन्त्री कार्यालयले त्यस विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयले भोजराज अधिकारीको नेतृत्वमा डा। ऋषि विष्ट र रामप्रसाद शर्मासहितको छानबिन समिति बनाएको थियो ।
समितिले २०७६ असार ३१ मा रिजालसँग लिखित स्पष्टीकरण सोधेको थियो ।
उक्त समितिले २०७६ साउन ४ गते स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । तर, सो प्रतिवेदन अहिलेसम्म पनि गुपचुप नै राखिएको छ ।
रिजाल अहिले दोस्रोपटक ट्रमा सेन्टरको प्रमुखको रूपमा कार्यरत छन् ।
तात्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको पालामा २०८० जेठ १७ गते पहिलोपटक उनी ट्रमा सेन्टरको प्रमुख (मेसु)को रूपमा नियुक्त भएका थिए ।
त्यसपछि अहिलेको बहालवाला स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दोस्रोपटक २०८१ मंसिरमा उनलाई मेसुको रूपमा नियुक्त गरेका हुन् ।
ट्रमा सेन्टरले आकस्मिक विभाग र ओपीडीमा चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसासम्बन्धीका गम्भीर बिरामीको उपचार गर्छ ।
तर, त्यस्ता बिरामीलाई बेड अभावको बहाना बनाएर इमर्जेन्सीमा राख्दै अन्ततः आफ्नै निजी अस्पतालमा जान बाध्य बनाउने गरेको ट्रमा सेन्टरका कर्मचारीहरू नै बताउँछन् ।
त्यसैगरी, भर्ना हुने बिरामीबाट बाहिरका फार्मेसीमार्फत औषधि तथा स्वास्थ्य उपकरण खरिद गर्न लगाउने, बाहिरबाट किनिएको फार्मेसीबाट रिजालले कमिसन पाउने गरेको कर्मचारीहरूको आरोप छ ।
त्यो आरोप गलत रहेको भन्दै रिजालले लोकान्तरसँग भने, ‘मैले अस्पतालबाहिरको फार्मेसी बन्द गर्न लगाएर अस्पतालभित्रकै फार्मेसीबाट औषधि किन्न भनिरहेको हुन्छु ।’
नेपाल चिकित्सक संघको चुनावलाई लिएर विभिन्न आरोपहरू लगाउने गरेको उनले बताए ।
‘ती आरोपमा कुनै पनि सत्यता छैन । चिकित्सक संघको अध्यक्ष पदमा म चुनाव नउठे हुन्थ्यो भन्ने लागेर केही साथीहरूले हुँदै नभएका आरोप लगाउनु भएको छ,’ उनले थपे, ममाथि लगाइएको आरोपमा अलिकति पनि सत्यता रहेको प्रमाणित भए पेशा नै छाड्न तयार छु ।’
लोकान्तरबाट