काठमाण्डू, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको नाम टुंगो लाग्न सकेको छैन ।
यसअघिका सभापति रामहरि खतिवडाले २ साताअघि राजीनामा दिएसँगै हाल समिति नेतृत्वविहीन रहेको छ ।
त्यसमा नेपाली कांग्रेसले दाबी गरिरहेको र कांग्रेसका विभिन्न नेताहरुको सम्भावनाबारे छलफल भइरहेको छ ।
आइतबार दिनभर सभामुख देवराज घिमिरेले समितिको निर्वाचनको सूचना प्रकाशन गर्ने तयारी गरे ।
तर, आइतबारको प्रयास सफल हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ ।
अन्य दलको दाबी नरहेको अवस्थामा सभामुख घिमिरेले कांग्रेस प्रम्ख सचेतक श्यामकुमार घिमिरेसँग २ पटक छलफल गरे ।
तर, पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएको भन्दै प्रमुख सचेतक घिमिरेले सूचना जारी नगर्न आग्रह गरेका थिए ।
‘राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको सूचना प्रकाशन गर्न सभामुखले आइतबार दिनभर गरेको प्रयास सफल हुन सकेन ।
अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गरेका थिए ।
तर, आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो,’ सभामुखको सचिवालयले भनेको छ ।
त्यस्तै आज बिहान कांग्रेस पदाधिकारी बैठक बोलाइएको छ । आजै बिहान सूचना जारी गर्नुपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति रहेको भन्दै सभामुख घिमिरेले नाम टुंगो लगाउन अल्टिमेटम दिएका छन् ।
साथै उनले यसअघि पनि कांग्रेसकै कारण समितिको सभापति चयन गर्न नसक्दा राज्य व्यवस्था समितिको बैठक नै बस्न नसकेको नजिर समेत स्मरण गराएको सभामुखको सचिवालयले जनाएको छ ।
‘आज बिहान कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाउने उनको भनाइ छ ।
आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ,’ सभामुखको सचिवालयले भनेको छ, ‘विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्थाको बैठक नै बस्न नसकेको गलत नजिर दोहोर्याउन नहुने सभामुखले बताउनुभएको थियो ।’