काठमाण्डू, प्रधानमन्त्री केपी ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गरेका हुन् ।

उनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरेका थिए ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने साङ्घाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने जनाइएको छ ।
प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

त्यसअघि नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने छन् ।





