काठमाण्डू, हनुमान ढोका दरबार क्षेत्रको कालभैरव परिसरमा परम्परागत विधिअनुसार इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको छ ।
काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्राको शुरुवात लिङ्गो ठड्याउने परम्पराबाट हुने गर्दछ ।
भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हात अग्लो लिङ्गो भदौ १५ गते बिहान ९: ५२ बजेको शुभ साइतमा भोटाहिटी हुँदै तानेर हनुमानढोका परिसर पुर्याइएको थियो ।
बिहीबार बिहान १०: ३१ बजे शुभ साइतमा लिङ्गो ठड्याएर इन्द्र ध्वजोत्थान गरिएको हो ।
यससँगै काठमाडौंमा येंस्न्यां पुन्ही अर्थात् इन्द्रजात्राको औपचारिक शुरुवात भएको छ ।
इतिहासअनुसार इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्परा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ ।
यसलाई इन्द्र ध्वजको रूपमा पनि चिनिन्छ । इन्द्रजात्रामा कुमारी, गणेश र भैरवको रथयात्रा, देवीदेवताका पूजा(अर्चना, सांस्कृतिक झाँकी तथा नाचगानको समेत आयोजना गरिन्छ ।