काठमाण्डू, ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ ।
विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो ।
कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न शुरु गरिएको छ । प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् ।
शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिए ।
सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले स्पष्ट पारे ।
“प्रतिवेदन टोलीनेताले हलमा सार्वजनिक गर्नुहुने छ,” लामाले जानकारी दिइन् ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गरे ।
समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले जानकारी दिए ।
सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताउँदै गौतमले प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सक्ने तयारी भइरहेको उनले स्पष्ट पारे ।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि १० समूहले छलफल विमर्श गरेका थिए ।
महाधिवेशनमा शनिबार भएको विमर्श र आइतबार हुने समूहगत विमर्शलाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ ।
राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका विषय मुलुकको वर्तमान राजनीतिक परिदृश्य, सङ्घीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस भएको र त्यो समूहको नेतामार्फत सार्वजनिक हुने नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष राजन भुर्तेलले जानकारी दिए ।
त्यस्तै साङ्गठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, सङ्गठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्ने छ ।
विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ ।
एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने बताइएको छ ।
यही कारण पनि प्रत्येक समूहमा हुने छलफललाई केन्द्रीय नेतृत्वले महत्वका साथ हेरेको छ भने उत्कृष्ट सुझाव बनाउन समूहका नेता सक्रिय बनेर प्रतिवेदन लेखनमा क्रियाशील बनेको प्रचार विभागका प्रमुख गौतमले बताए ।
नेपाली विशेषताको समाजवाद
सोभियत मोडेलभन्दा फरक तर नेपाली विशेषताको समाजवाद ल्याउनका लागि एमालेको विधान महाधिवेशनमा छलफल भएको छ ।
दोस्रो विधान महाधिवेशनमा प्रस्तुत नेपाली विशेषताको समाजवाद शीर्षकको दस्ताबेजमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा ल्याइने समाजवादको स्पष्ट रूपमा व्याख्या गरेका छन् ।
अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी नेपालको विशेषतामा कस्तो हुन्छ भन्ने पनि उल्लेख गरेका छन् ।
दस्ताबेजमा ओलीले बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने र एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिने भनेका छन् ।
दस्ताबेजमा कम्युनिस्ट पार्टीबारे उनले उल्लेख गरेका छन्, “विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी प्रणालीका अनुभवलाई ध्यानमा राख्दै कम्युनिस्ट पार्टीलाई निरन्तर जनताको बिचमा स्थापित गर्ने, जनताको सुखदुःखको साथी र सच्चा प्रतिनिधिका रूपमा यसको चरित्रलाई अक्षुण्ण राख्ने, राज्यको नेतृत्व गरिरहँदा उत्पन्न हुन सक्ने भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गरिने छ ।”
कम्युनिस्ट पार्टीलाई नेपाली इतिहासका गौरवपूर्ण पक्षहरू, संस्कृतिका जीवन्त आयामहरू र नेपालीपनलाई प्रवर्धन गर्ने साधकका रूपमा विकास गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
समाजवादलाई कुनै आकस्मिक, पराई या शून्यबाट सृजित व्यवस्था होइन, नेपाली इतिहासका हजारौँ वर्षको विकासको स्वाभाविक परिणतिका रूपमा, त्यसको निरन्तरता र उत्तराधिकारीका रूपमा विकास गरिने उनले भनेका छन् ।
फरक मतलाई समूहमा छलफल गर्न आग्रह
विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आग्रह गरेका छन् ।
बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधिले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह पनि गरे ।
उक्त आग्रहपछि अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरू पर्चामार्फत हलमा वितरण गरेका थिए ।
शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तबेज प्रस्तुत गरेका थिए ।
दोस्रो दिन शुक्रबार केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा.पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव बडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।
बहस नोटमा भट्ट
समूहको टोलीनेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ ।
जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।
प्रस्ताव तयार समिति संयोजकमा भट्टराई
दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न पार्टी सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति बनाइएको छ ।
अध्यक्ष ओलीले शनिबार सो समिति घोषणा गरेका हुन् । समितिको अन्य सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सिर्जना काफ्ले र माधव ढुङ्गेल रहेका छन् ।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले बताए ।