Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

- shuvadmin / बिहिबार, भदौ २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ ।

२६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो ।

जेनजी पुस्ताका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि शुरु भएको छ ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलवीच देशमा देखिएको राजनीतिक समस्या समाधान गरी संवाद र सहमतिका माध्यमबाट निकासको यात्रा प्रारम्भ गर्न निरन्तर विमर्श भइरहेको छ ।

जेनजी पुस्तालाई विश्वासमा लिएर देशलाई निकास दिने दिशातर्फ अघि बढ्ने सन्दर्भमा गहन विमर्श भइरहेको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रको निकासका लागि संवाद भइरहेको पुष्टि गरे ।

प्रधानसेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग संवाद गरेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

सिग्देलले बिहीबार देशले निकास पाउने गरी जेनजी अभियन्तासँग छलफल गर्ने छन् । जेनजी अभियन्ताले सेनासँगै आफ्नो समूहमा बृहत् छलफल गरेका छन् ।

जेनजी अभियन्ताहरू रक्षा बम र युजन राजभण्डारीले ‘देशले निकास पाएको’ बताए । अभियन्ता राजभण्डारीले लेखेका छन्, “सबैलाई बधाई, देशले निकास पायो ।”

यसअघि अभियन्ता बमले सामाजिक सञ्जालमार्फत जेनजी समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।

उनले “राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनिसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ” भनेका थिए ।

कार्कीलाई जेनजीको अनुमोदन

प्रधान सेनापति सिग्देलसँगको छलफलपछि जेनजी अभियन्ता सामाजिक सञ्जालमा खुला बहसमा सहभागी भए ।

१० हजारभन्दा बढी जेनजी पुस्ता र अभियन्ताले देशको परिस्थिति, तत्कालै गर्नुपर्ने काम र भावी कार्यदिशाका सन्दर्भमा पनि छलफल गरेका छन् ।

प्रधानमन्त्रीका लागि पूर्वप्रधान न्यायाधीश शुशीला कार्कीलाई छलफलमा सहभागी जेनजी पुस्ताको अत्यधिक मत प्राप्त भएको छ ।

उनको नेतृत्वमै अन्तरिम मन्त्रीपरिषद् गठन हुनुपर्नेमा जेनजी अभियन्ताको जोड छ ।

प्रधान सेनापति सिग्देलसँगको छलफलमा पनि जेनजी अभियन्ताले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अघि बढ्न प्रस्ताव गरेका छन् ।

छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, जेनजी पुस्तालाई समावेश गर्ने गरी सङ्घीय संसद्को निर्वाचन, २०४६ पछि सार्वजनिक पदमा बसेका सबै पदाधिकारीका सम्पत्ति छानबिन, भ्रष्टाचारका मुद्दाको न्यायिक छानबिन गरी कारबाही, सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्नेसहितका विषयमा विमर्श भएको छ ।

यसै गरी प्रधानसेनापति सिग्देलले अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका थिए ।

छलफलपछि अभियन्ता प्रसाईंले प्रधान सेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको जानकारी दिए ।

उनले निष्कर्षसहित सामाजिक सञ्जालमा , “मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।”

साथै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पनि छलफलका लागि सैनिक मुख्यालय पुगेर प्रधान सेनापति सिग्देलसँग संवाद गरे ।

उनले देशको निकासका लागि नयाँ पुस्ताको र देश बनाउने सोच बोकेको नेतृत्व आवश्यक रहेको बताए ।

उनी जङ्गी अड्डा पुग्दा समर्थकले काठमाडौँ महानगर प्रमुख शाह वा धरान उपमहानगर प्रमुख साम्पाङलाई देशको नेतृत्व दिनुपर्ने मागसहित नाराबाजी गरेका थिए ।

वैधानिक उपाय अपनाइयोस् : कांग्रेस

नेपाली कांग्रेसले संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन आग्रह गरेको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षले संयम र एकतासाथ प्रस्तुत हुन जरुरी रहेको बताएका छन् ।

उनीहरूले भनेका छन्, “नेपाल देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढङ्गले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ ।

मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।”

महामन्त्री थापा र शर्माले विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गर्दै सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न आग्रह गरेका छन् ।

उनीहरुले नेपाली सेनालगायत सबै सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्न आआफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आमनागरिक, नागरिक समाज, सञ्चारजगत्, अन्तर्राष्ट्रिय समुदाय सबै तहबाट पनि साथसहयोगका लागि अपिल गरेका छन् ।

उनीहरुले यो पहललाई जेनजी पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्दै ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नु पर्छ भन्ने कुराको स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “विधि विहीनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहने छ ।”

लोकतान्त्रिक पद्धति अपनाइयोस् : एमाले

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले देशको विषम परिस्थितिमा अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न आग्रह गरे ।

विज्ञप्तिमार्फत निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानवनिर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुध्दै र तिनीहरूमाथि विजय हासिल गर्दै यस विन्दूसम्म आइपुगेको उल्लेख छ ।

महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीले यो प्रतिकूल अवस्था सधैँ नरहने बताएका छन् ।

विज्ञप्तिमा अहिले समालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण हुने र राष्ट्र, लोकतन्त्र र कम्युनिस्ट आन्दोलन सबैका सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका रचनात्मक भूमिकाका लागि अपिल गरिएको छ ।

सचिव योगेश भट्टराईले पनि देशभित्रको आन्तरिक सहमति, संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताए ।

उनले विश्व समुदायले नेपालीको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्ने बताए ।

Page Views: 34
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama