काठमाण्डू, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ ।
जनजीवन विस्तारै सामान्य हुन थालेको हो । जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराइसकेका छन्।
नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यु र निषेधाज्ञा अहिले थपेको छैन ।
जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यु आदेशसम्बन्धी सूचना जारी गर्ने गरेकोमा शनिबार साँझबाट भने थप सूचना आएको छैन ।
सेनाले कर्फ्यु र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरूले आवश्यकताअनुसार निर्णय गर्न थालेका छन् । आज बिहान ६ बजेसम्म मात्र कर्फ्यु कायम थियो ।
आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बनेको छ ।
हिजोअस्ति अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खुल्ला गरिएको छ ।
त्यस्तै, बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ देखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएको थियो ।