काठमाण्डू, जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्यापिड भिजुअल एसिसमेन्ट) शुरु गरिएको छ ।
आगजनीबाट भवनमा पुगेको क्षति, भवनका भित्ता, छतलगायतका संरचनाको अवस्था, तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ या सकिन्न भन्नेबारे यकिन गर्न ‘यापिड भिजुअल एसिसमेन्ट’ शुरु गरिएको सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।
‘एसिसमेन्ट’ बाट क्षतिग्रस्त भवनहरूको भित्ता, छत, खम्बा, इँटालगायतका संरचना काम लाग्छन् कि लाग्दैनन् ? तिनीहरूको पुनर्निर्माण गर्न सकिन्छ कि सकिँदैन र? लगायतको विषयमा स्पष्ट हुने कार्यालयको भनाइ छ ।
कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले आगजनी र तोडफोडबाट क्षतिग्रस्त र ध्वस्त भएका भवनको पुनर्निर्माण गर्ने वा भत्काउने विषयको निष्कर्षमा पुग्नका लागि ‘¥यापिड भिजुअल एसिसमेन्ट’ शुरु गरिएको जानकारी दिए ।
उनका अनुसार सिंहदरबारभित्रका भवन र सर्वोच्च अदालत भवनको ‘एसिसमेन्ट’ एक हप्ताभित्र सम्पन्न हुने छ ।
शहरी विकास मन्त्रालयकै प्राविधिकबाट यो कार्य भइरहेको छ । आवश्यक परेको अवस्थामा बाहिरका विज्ञको सहयोग लिन सकिन्छ ।
कुनै पनि भौतिक संरचनामा आगजनीपछि त्यसको पुनर्निर्माण वा भत्काउनु पहिला ‘¥यापिड भिजुअल एसिसमेन्ट’ गर्ने विश्वव्यापी चलन रहेको उनको भनाइ छ ।
एसिसमेन्टले अहिले क्षतिग्रस्त संरचनाको अहिलेको अवस्था स्पष्ट हुने बताउँदै उहाँले त्यसका आधारमा थप काम र प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिए ।
उनले भने , “एसिसमेन्टपछि प्राविधिकको सल्लाहमा कुन संरचनाको निर्माण तत्काल गर्ने वा पछि गर्ने, कुन ढाँचामा पुनर्निर्माण गर्ने ? प्रबलीकरण गर्ने कि भत्काउने ? कति लागत लाग्न सक्नेलगायत विषयमा निष्कर्षमा पुग्न सकिन्छ ।”
त्यसै गरी क्षतिग्रस्त भवनमध्ये कुन प्रयोग गर्न मिल्ने वा नमिल्ने, कुनको पुनर्निर्माण गर्न मिल्ने ? भवनको कुन तलामा कुन प्रकारको कति क्षति भएको छ ? लगायतको विषयमा ‘एसिसमेन्ट’ पछि प्रस्ट हुने उनले बताए ।
उनका अनुसार ‘एसिसमेन्ट’ ले मुख्य त क्षतिको विवरण र संरचनाको अवस्था थाहा हुने छ ।
त्यसै गरी आवश्यक आर्थिक स्रोतका आधारमा पुनर्निर्माणका लागि थप प्रक्रिया अगाडि बढाइने छ ।
कालो हटाउन रङरोगन
आगजनीबाट क्षतिग्रस्त भएका भवनको पुनर्निर्माण वा मर्मतसम्भार ‘एसिसमेन्ट’ पछि गरिने भएपनि तत्कालका लागि भवनमा धुवाँबाट कालो भएका ठाउँमा रङरोगन शुरु गरिएको उनले जानकारी दिए ।
कालोले सिंहदरबार कुरूप नदेखियोस् भन्ने उद्देश्यले तत्कालका लागि रङरोगन गर्न लागिएको उनले स्पष्ट पारे ।
कार्यालय प्रमुख कण्ठले शहरी विकासमन्त्री कुलमान घिसिङबाट पदभार ग्रहण गर्ने क्रममा भएको निर्देशनबमोजिम धुवाँको मुस्लोले कालो भएका ठाउँमा मात्र रङरोगन गर्न लागिएको स्पष्ट पारे ।
आगजनीअघि जहाँ जुन रङको प्रयोग गरिएको थियो, त्यही रङ लगाउने काम भइरहेको छ ।
उनका अनुसार अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफैँले रङरोगन गरिरहेको छ ।
अन्य मन्त्रालय र कार्यालयको भवनमा सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत रङरोगन भइरहेको छ ।
आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पश्चिमी भाग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा सबभन्दा बढी क्षति पुगेको देखिएको कार्यालय प्रमुख कण्ठले जानकारी दिए ।
त्यसै गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो ।
त्यसै गरी सिंहदरबार परिसरमा रहेको नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका थिए ।
आगजनी र तोडफोडबाट सिंहदरबारभित्रै रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, सहरी विकास, श्रम तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका मन्त्रालय तथा निकायमा मात्र सामान्य क्षति पुगेको कार्यालय प्रमुख कण्ठले जानकारी दिए ।
उनका अनुसार रेडियो नेपाल, नेपाल टेलिभिजन र राष्ट्रिय योजना आयोगको कार्यालय आगजनी र तोडफोडबाट बचेको देखिन्छ ।