काठमाण्डू, दशैंको अवसरमा अग्रिम टिकट बुकिङ खुलाको घोषणा नगरी व्यवसायीले मनोमानी टिकट काट्न थालेपछि यात्रुहरू अलपत्र पर्न थालेका छन् ।
बसपार्कमा अग्रिम टिकट नपाउँदा दशैंमा घर जाने तयारी गरेकाहरू अन्योलमा परेका छन् । आइतबार अग्रिम टिकट काट्न जानेहरू खाली हात फर्किएका छन् ।
दशैं मनाउन घर फर्किनेहरूको चहलपहल बसपार्क तथा सार्वजनिक यातायातमा बढेको त छ ।
तर, अग्रिम टिकट बुकिङको सही व्यवस्थापन नहुँदा सर्वसाधारणले टिकट पाउन सकेका छैनन् ।
बसपार्कका टिकट काउन्टरमा व्यवसायीको व्यावसायकिता र जवाफदेहिता देखिएको छैन । केही त सकभर टिकट नकटाई मनलाग्दी भाडा असुलेर लैजाने दाउमा देखिन्छन् ।
काउन्टरका एक कर्मचारीले यात्रुलाई भने– “टिकट त सकिएको छ, जहिले जाने हो, उही दिन आउनु, मिलाउँला ।”
गोंगबु नयाँ बसपार्कमा असोज १२ गतेसम्मको अग्रिम टिकटहरू अधिकांश ‘बुक’ भइसकेका छन् । आइतबार बसपार्कबाट अग्रिम टिकट ‘बुक’ गरिएन ।
व्यवसायीले मन लागे खुला गर्ने, मन नलागे टिकट छैन भनेर यात्रुलाई फर्काएका छन् ।
आइतबार गोंगबु बसपार्कमा अग्रिम टिकट काट्न पुगेकी गुल्मी रेसुङ्गाका मीनबहादुर थापामगर खाली हात फर्किनुपरेको थियो ।
थापाले भनिन्, “म ११ बजेतिर बसपार्क पुगेको थिएँ । तर, गुल्मीको टिकट १२ गतेसम्मका लागि छैन भने ।
म १० गते जानु थियो पाइएन । विगतमा टिकट खुला गर्दा सजिलो थियो । तर, अहिले त यी व्यवसायीको मनलाग्दी रैछ । वास्ता नै गर्दैनन् ।”
दशैंका अवसरमा तराई र सुगमका जिल्लामा भन्दा पहाडी जिल्लामा बसको टिकट नपाइने समस्या हुँदै आएको छ ।
काठमाडौँबाट दैनिक दुई वटा बस जाने गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम जस्ता जिल्लामा दशैंको अवसरमा टिकट पाउन निक्कै गाह्रो हुने गरेको थापाको भनाइ छ ।
अहिले यी जिल्लामा दैनिक पाँच वटा बस पठाउँदा पनि टिकट पाउन गाह्रो भएको नयाँ बसपार्क टिकट काउन्टरका कर्मचारी डिल्ला भुषालले बताए ।
काउन्टर र कर्मचारीसँग पहुँच नहुने सार्वसाधारणले टिकट पाउन सकिरहेका छैनन् । बसका कर्मचारीलाई फोनबाटै टिकट रोकाउने प्रवृत्तिले काउन्टरमा जानेहरूले पाएका छैनन् ।
हुन त अनलाइनबाट पनि बसको टिकट काट्न सकिन्छ तर अनलाइनमा पहुँच नहुनेहरूका लागि समस्या हुने गरेको छ ।
नारायणगढबाट पश्चिमतर्फ सञ्चालन हुने बसहरू दाउन्नेको जामले गर्दा काठमाडौँ समयमा आउन नसक्ने समस्याले गर्दा टिकट काटिहाल्न पनि गाह्रो हुने भुषालले बताए ।
जेनजी आन्दोलनका कारण घटस्थापना अघि नै धेरै यात्रुले उपत्यका छोडिसकेकाले पनि यात्रुको चाप नहुन सक्ने अनुमान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छ ।
राजमार्गको दुरवस्थाको कारणले पनि भनेको समयमा सवारी उपलब्ध गराउन कठिन भएको व्यवसायीको गुनासो छ ।
गोंगबु बसपार्कमा समयमा बस उपलब्ध हुन नसक्ने अवस्थाका कारणले पनि अन्योल बढेको छ ।
मौसमले पनि यस पटक चुनौती दिइरहेको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।
उनले भने, “११, १२ गतेको टिकट बुक भइसकेको छ । अब १३ देखि १५ गतेसम्मको लागि पनि बुकिङ हुन्छ ।
आइतबार मुग्लिङ– नारायणगढ खण्डमा पहिरोले ४८ घण्टा सडक अवरुद्ध हुँदा काठमाडौँ बसपार्कमा टिकटको समस्या भएको हो ।
सप्तमी, अष्टमी र नवमीमा बढी चाप हुने गर्छ, त्यतिबेलासम्म सवारीको व्यवस्थापन हुन्छ ।” व्यावसायीको मानोमानी नभएर घटना परिस्थिति त्यस्तै पर्न गएकाले समस्या हुने गरेको बताइएको छ ।
महासङ्घले सुरक्षित र सहज यात्रा गराउन व्यवसायीलाई निर्देशन दिइरहेको छ । यदि समस्या परेमा नागरिक सहायता कक्ष, प्रहरी र कर्मचारीको सहयोग लिन आग्रह गरिएको अध्यक्ष स्वाँरले भने ।
फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैंको महìवपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । विशेषतः फूलपातीको दिनदेखि काठमाडौँबाट बाहिरिनेको सङ्ख्या अत्यधिक हुने गरेको छ ।
सहज व्यवस्थापनका लागि रुट परमिट पनि खुला छ । उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक रूपमा बढिरहेको नागढुङ्गा प्रहरीले जनाएको छ ।