काठमाण्डू, जेन–जी आन्दोलनपछि जलविद्युत् आयोजनामा असुरक्षा बढेको पाइएको छ ।
बेलाबेला स्थानीय समुदायले विभिन्न माग राखी आयोजना स्थलमा आन्दोलन गर्दै आएपनि जेन–जी आन्दोलनपछि स्थानीय बासिन्दाले आयोजना स्थलमै गएर धम्की दिँदै निःशुल्क सेयरको माग राख्न थालेका छन् ।
जेन–जीको नाममा भोटेकोशी पावर कम्पनीविरूद्घ स्थानीयले करिब एक सातादेखि गरेको आन्दोलन १० प्रतिशत सेयर दिने कुरामा सहमति भएर टुंगिएसँगै अन्य आयोजना रहेका स्थानका स्थानीयलेसमेत निःशुल्क सेयरको माग गर्दै विभिन्न आयोजनालाई पत्र पठाउने र स्थानीय पालिकालाई अनुरोध गर्ने गरेका छन् ।
जेन–जीको नाममा भोटेकोसीका स्थानीयले गाउँपालिका प्रशासकीय भवन तोडफोड गरेपछि भएको दुईपक्षीय छलफलमा पावर कम्पनीले त्यहाँका बासिन्दालाई निःशुल्क १० प्रतिशत सेयर दिन तयार भएसँगै जुगल गाउँपालिकाका स्थानीयद्वारा पनि १४ भन्दा बढी आयोजनाबाट निःशुल्क सेयरको माग राख्दै बुधवार आयोजना स्थलका स्थानीयले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले भोटेकोसी जलविद्युत् आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने घोषणा गरेसँगै आफूहरूलाई पनि सेयर दिनुपर्ने माग राखेको बताए ।
यस्तै, गाउँपालिका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले बुधबार मागका विषयमा छलफल भएको बताए । उपाध्यक्ष स्याङ्बोले ज्ञापनपत्र आएपछि आयोजना कार्यालयलाई पत्र पठाई समस्याको समाधन गरिने जानकारी गराए ।
स्थानीयलाई १० प्रतिशत निःशुल्क सेयर दिने गरी ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी र स्थानीयबीच प्रारम्भिक सहमति जुटेको थियो ।
भोटेकोशी जलविद्युत् आयोजनाका प्रशासन अधिकृत सुशीला सापकोटाले भने आफूहरूलाई सेयरको बारेमा केही पनि जानकारी नभएको बताइन ।
यसै गरी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्ष गणेश कार्कीले निःशुल्क सेयर दिनुपर्छ भनी विद्युत् आयोजनालाई आएको पत्र अर्थमन्त्रलाई रामेश्वर खनाललाई दिइ सुरक्षाको प्रत्याभूति दिन अनुरोध गरिएको बताए ।
उनले यस्तो विषय समयमै समाधान नभए आउने दिनमा ऊर्जा क्षेत्र समाप्त हुने चिन्ता व्यक्त गरे ।
ऊर्जा जानकारहरूका अनुसार भोटेकोशी प्रवद्र्धक भोटेकोशी पावर कम्पनी लिमिटेडको सञ्चालक समिति बैठकले निःशुल्क सेयर दिने निर्णय गरेको छैन ।
यस्ता सहमति भए, नजिर स्थापित भई सबै जलविद्युत् वरपरका बासिन्दालाई आयोजालाई समस्या पार्ने देखिएको छ ।
तर, भोटेकोशी आयोजनामा भने स्थानीले उत्पादनलाई प्रभावित पारी करोडौँ क्षति पु¥याउनसक्ने हुनाले बाध्य भई सहमति गरेको पाइएको छ ।
सिन्धुपाल्चोकस्थित भोटेकोशी जलविद्युत् आयोजनामा गत भदौ २५ गते जेन–जी आन्दोलनको नाममा एक समूहले आयोजनाको कार्यालयमै पुगेर १० प्रतिशत सेयर निःशुल्क दिनुपर्ने माग गर्दै धम्की दिएको थियो ।
उक्त धम्कीका कारण कर्मचारी आयोजनास्थल छोडेर भागेपछि ४५ मेगावाट क्षमताको उक्त आयोजनाको उत्पादन ठप्प भएको थियो ।
अहिले आयोजनालाई नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको पाइएको छ ।
भोटेकोशी जलविद्युत् आयोजना नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवद्र्धित ४५ मेगावाट क्षमताको आयोजना हो ।
उक्त समूहको धम्कीपश्चात् आयोजनाले असोज ३ गते आन्दोलनरत पक्षलाई वार्तामा बोलाए तापनि असोज २ गते नै उक्त समूहले फेरि आन्दोलन गरेपछि सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच झडपसमेत भएको थियो ।
झडपमा केही स्थानीय र सुरक्षाकर्मी घाइतेसमेत भएका छन् । असोज २ गतेको आन्दोलनले उग्ररूप लिन थालेपछि स्थानीय जनप्रतिनिधि, आन्दोलनरत पक्ष र कम्पनीका प्रतिनिधिको उपस्थितिमा प्रारम्भिक सहमति गरिएको पाइएको छ ।