Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानसेनापतिले दिए सेनाले सिंहदरबार जल्नबाट रोक्न नसक्नुको कारण

- shuvadmin / शनिबार, असोज ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भदौ २३ को जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगजनी र तोडफोडमा सिंहदरबारलगायत नेपालका महत्त्वपूर्ण सम्पदा जल्नबाट रोक्न नेपाली सेनाले नसकेको भनी आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले रक्तपात हुन नदिन र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने सम्भावनालाई रोक्न सेनालाई बाहिर ननिकालेको दाबी गरेका छन्।

पृतनापतिहरूको बिहीबार सम्पन्न बैठकमा प्रधानसेनापति सिग्देलले सिंहदरबारलगायत देशका महत्त्वपूर्ण सम्पदाहरू जल्नबाट रोक्न नसकेको भनी आलोचना भइरहे पनि थप नेपाली युवा नमारिऊन् र देश विदेशी शक्तिको खेलमैदान नबनोस् भनी सेनालाई बाहिर ननिकालिएको बताएका थिए।

सेनाको उच्च स्रोतका अनुसार प्रधान सेनापति सिग्देलले नेपाली सेना सधैँ नेपाली जनता र नेपालको सार्वभौमसत्ताका लागि उभिने बताउँदै जेनजी आन्दोलनमा भदौ २४ गते थप युवा नमारिऊन् भन्नेमा सचेत रहेको बैठकमा बताएका थिए।

परिस्थिति बिग्रेपछि भदौ २४ गते बेलुका सेनाले सुरक्षा नियन्त्रण आफ्नो हातमा लिँदै कर्फ्यू आदेश दिएपछि परिस्थिति बिस्तारै नियन्त्रणमा आएको थियो।

‘ नेपाली युवाको रक्तपात रोक्न र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने अवस्था’ आउन नदिन सेना ननिकाल्ने निर्णय गरेको प्रधानसेनापति सिग्देलले बताएका छन्।

प्रधानसेनापति सिग्देलले बिहीबार पृतनापतिहरूको बैठक गरेका थिए भने यसअघि नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरूको बैठक बोलाएर भदौ २३ र २४ गतेको परिस्थितिको ब्रिफिङ गरेका थिए।

सेना निकट स्रोतका अनुसार भदौ २३ मा १९ जना प्रदर्शनकारी मारिएपछि तात्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न सेना प्रमुख अशोकराज सिग्देलले चारपटकसम्म आग्रह गरेपनि उनले अस्वीकार गरेका थिए।

भदौ २३ को आन्दोलनमा १९ जना मारिएपछि प्रधानसेनापति सिग्देल सोही साँझ बालुवाटार पुगेका थिए।

सेना निकट स्रोतका अनुसार उनले परिस्थिति साम्य पार्न तत्काल राजीनामाका लागि तात्कालीन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।

तर, ओलीले सिग्देलको प्रस्ताव अस्वीकारमात्र गरेनन्, ‘सेनाले मलाई सिकाउने’ भन्दै प्रधानसेनापतिसँग उनी भड्किएका थिए।

सोही साँझ प्रधानसेनापति सिग्देलले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग तत्काल सल्लाह गरेर भदौ २४ गते आन्दोलन हिंसात्मक हुनसक्ने भएकाले गोली नचलाउन र ब्यारेकको सुरक्षा गर्ने निर्णय गरेका थिए।

तीनै सुरक्षा प्रमुखहरूको निर्णयअनुसार नै मंगलबार सुरक्षाकर्मीहरू सडकमा ननिस्किएको बुझिएको छ।

बिदामा बसेका र कार्यालयबाहिर रहेका सबै सुरक्षाकर्मीलाई ब्यारेकमै फर्काउने निर्णय पनि तीन जना सुरक्षा प्रमुखबीच भएको स्रोत बताउँछ।

बिहीबार सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्च्युअल सहभागितामा बैठक भएको हो।

प्रधान सेनापति सिग्देलद्वारा समापन भएको बैठकमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राखेका थिए।

स्रोतहरूका अनुसार भदौ २४ गते बिहान प्रधानसेनापति सिग्देल फेरि बालुवाटार गएर ओलीसँग भेटेका थिए।

परिस्थिति झनै बिग्रँदै गएकाले तत्काल राजीनामा दिन उनले त्यो बेला पनि तत्कालीन प्रधानमन्त्री ओलीसँग सुझाएका थिए तर उनले मानेनन्।

बाहिरी परिस्थितिको बारे कुनै जानकारी नपाएका ओलीले सेनाले आफूलाई गलत सूचना दिएको र बालुवाटारमा जंगी अड्डा हाबी हुन खोजेको रूपमा यसलाई लिए।

सुरक्षाप्रमुखहरू र पृतनापतिहरूसँग निरन्तर सम्पर्कमा रहेका प्रधानसेनापतिले देशभरि नै स्थिति बिग्रँदै गएको सूचना पाइरहेका थिए।

मंगलबार दिउँसो सेनाप्रमुख सिग्देल फेरि हेलिकप्टरमा बालुवाटार पुगे र राजीनामाका लागि प्रधानमन्त्री ओलीलाई सुझाए तर ओलीले त्यो बेला पनि राजीनामा गर्न मानेनन्।

प्रधानसेनापति सिग्देल त्यहाँबाट हेलिकप्टरमै शीतलनिवास गएर सबै कुरा राष्ट्रपति रामचन्द्र पौडेललाई बताउँदा पौडेल उल्टै कड्किएको र ‘प्रजातन्त्र खत्तम गर्न खोजेको’ भन्दै सिग्देललाई भनेका थिए।

सोही दिन बुढानीलकण्ठस्थित निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तात्कालीन परराष्ट्रमन्त्री आरजु देउवामाथि आक्रमण भएपछि भने प्रधानमन्त्री ओलीले बडो गाह्रोसँग राजीनामाको सुझाव स्वीकार गरेको एक सेना अधिकारीले जानकारी दिएका छन्।

देउवामाथिको आक्रमण र बालुवाटार वरिपरि पनि ठूलो संख्यामा मानिसहरू जम्मा भएपछि सेनापतिसँग बालुवाटारबाट सुरक्षाका लागि आग्रह भएपछि फेरि सेनाप्रमुख सिग्देल हेलिकप्टर चढेर बालुवाटार पुगेका थिए।

त्यो बेला पनि प्रधानमन्त्रीलाई राजीनामा गराउन कठीन भएको र प्रधानसेनापति सिग्देलले केही कडा स्वरमा ‘राजीनामाबिना हामी तपाईँको सुरक्षा गर्न सक्दैनौँ’ भनेपछि उनी तयार भएको एक सैनिक अधिकारीले दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीको निर्देशनमा राजीनामाको ड्राफ्ट त्यहाँ रहेका बिष्णु रिमालले गरेका थिए।

प्रधानमन्त्रीको राजीनामा आएपछि बल्ल सेनाले ओली दम्पतीलाई हेलिकप्टरमा सेनाको ७ नम्बर बाहिनी मकवानपुरको चनबन लगेका थिए।

ओली सेनाको ७ नम्बर बाहिनी चनबनमै सेनाको सुरक्षाभित्र रहेको पनि सैनिक स्रोतले जानकारी दिएको छ।

सैनिक अधिकारीहरूका अनुसार सेनाप्रमुख सिग्देलले संविधान जोगाएर कम क्षतिमा निकास निकाल्न भदौ २४ र २५ गते दिनभरि काठमाडौँ महानगर प्रमुख बालेन शाह, तात्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलगायतसँग निरन्तर छलफल गरेका थिए।

शनिबार गुण्डूमा नेताकार्यकर्ताहरूसँगको बैठकमा तात्कालीन प्रधानमन्त्री ओलीले गोली चलाउने आदेश आफूले नदिएको र कसले गोली चलाएको भनी अनुसन्धान हुनुपर्ने बताएका छन्।

ओलीले भने भदौ २४ गते परिस्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्ने महसुस भएपछि आफूले राजीनामा दिएको शनिबार गुण्डूमा आयोजित कार्यक्रममा बताएका छन्।

Page Views: 76
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama