पाल्पा, बाँदर र बँदेलबाट बालीनाली जोगाउन नसकेपछि गाउँमा खेती गर्ने आश मारेका पाल्पा रिब्दीकोट गाउँपालिकाका लुभबहादुर कुँवर अहिले अकबरे खुर्सानीले बारी राताम्मे भएपछि दंग छन् ।
वडा नम्बर ७ निवासी कुँवरले आफ्नो ७ रोपनी बारीमा दुई वर्षदेखि शुरू गरेको खुर्सानी खेतीले उनको जीवनमा ठूलो आर्थिक परिवर्तन ल्याएको छ ।
‘बाँदरले खाद्य बाली स्याहार्न दिएन, अब के गर्ने होला भनेर सोच्दासोच्दै खुर्सानी खेती गर्न थालियो’ कुँवर भन्छन्, ‘यो सिजनमा मात्रै खुर्सानी बेचेर ५ लाख कमाइसकियो । अझै दुई महिनामा खुर्सानीको सिजनमा २ लाख गरी ७ लाख कमाई अपेक्षा छ ।’

‘खुर्सानीले बाँझिएको खेतबारी हरियाली भएपछि जीवनस्तर सहज भएको छ,’ उनी थप्छन्, ‘खुर्सानीले बाँझो जग्गा प्रयोग मात्र भएको छैन ।
राता अर्ग्यानिक खुर्सानी बिक्री गरेर गाउँभर हरिया नोट पनि भित्रिएका छन् । कमाइका लागि विदेश गएको छोरो पनि फर्किएर खुर्सानीमै रमाएको छ ।’
कुँवरले गत वर्ष पनि ७ लाख रूपैयाँको खुर्सानी बिक्री गरेका थिए ।
रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायणबहादुर जिसीले १५ रोपनी जग्गामा रोपेको १५ हजार खुर्सानीका बिरुवाले गत साउनदेखि उत्पादन दिन थालेको छ ।

वडा नम्बर– ६ छिमुरेका जिसीले अहिलेसम्म १० लाखको खुर्सानी बिक्री गरिसकेका छन् भने अझै थप ३ लाख आम्दानी गर्ने योजनामा छन् ।
आफू अध्यक्ष हुँदा किसानलाई प्रोत्साहन गरेका उनी कार्यकाल सकिएपछि यही खुर्सानी खेतीमा रमाएका छन् ।
‘अकबरेले गाउँपालिकाको बाझो जमिन उपयोग मात्र भएको छैन, गाउँमा रोजगारी सिर्जनासँगै गरिबी पनि घटाएको छ,’ जिसी भन्छन्, ‘रिब्दीकोटसँगै समग्र पाल्पा अकबरे खुर्सानीको चिनारी बन्दै गएको छ ।
खुर्सानीको उत्पादनले अब ढुक्कसँग खान–बस्न पुग्छ । अन्य हरियो तरकारीजस्तो समयमै बिक्री नभए सडेररबिग्रेर नोक्सान होला भन्ने चिन्ता पनि हुँदैन ।’

जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष रामबहादुर कार्की यस क्षेत्रमा अहिले धेरै खुर्सानी फलाउने किसानमा पर्छन् ।
३५ रोपनी जग्गामा खुर्सानी खेती गरेका उनले यो सिजनमा १५ लाखको खुर्सानी बिक्री गरिसकेका छन् ।
अझै १५ लाखको खुर्सानी उनको बारीमा तयार भइरहेको छ । तीन वर्षअघि गाउँमा बञ्जर झाडी फाँडेर पालिकामा अकबरे खेती भित्र्याएको रिब्दीकोट वडा– ७ मैदादीका किसान जनक आचार्य बताउँछन् ।
शिक्षणसँगै खुर्सानी र सुन्तला खेतीमा रमाएका आचार्य खुर्सानीबाट नियमित पैसा आइरहेको बताउँछन् ।

‘चार वर्ष अघिसम्म पालिकाका धेरै जग्गा उजाड थिए । अहिले खुर्सानी खेतीले ढाकेर आकर्षक र लोभलाग्दो बनेको छ,’ आचार्य भन्छन्, ‘अहिले गाउँमा खुर्सानी खेती हेर्न विभिन्न ठाउँबाट किसानहरू पनि आउने गर्छन् ।
वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रूपमा गरिएको अकबरेको शुरूआत अहिले नमूना बन्दा गौरव लाग्छ ।’
वर्षमा १० लाखसम्मको खुर्सानी बेचेका उनले यो वर्ष माटो सुधारका लागि भनेर कम क्षेत्रमा मात्र रोपिएको बताए ।
अहिले रिब्दीकोटमा खुर्सानी टिप्ने, सुकाउने र बिक्रीका लागि संकलन केन्द्रमा लैजाने चटारो छ ।
झण्डै ४ हजार ५०० घरधुरी रहेको रिब्दीकोट गाउँपालिकाका ९ वटै वडामा १ हजार ९ सय किसान परिवार परिश्रम र पसिना बगाउँदै व्यावसायिक खुर्सानी खेतीमा जोडिएका छन् ।
कृषकले प्रतिरोपनी ३ सय किलोसम्म उत्पादन गर्दै छन् । यो खेतीमा जोडिएका किसानले १ लाखदेखि १० लाखसम्म कमाई गर्न थालेका छन् ।

खुर्सानीका बिरुवा किसानका खेतबारीका पाखोबारी र खेतमा फैलिएका छन् ।
रिब्दीकोट गाउँपालिका अहिले खुर्सानीको पकेट क्षेत्र बनेको छ । रिब्दीकोट गाउँपालिका पूर्व उपाध्यक्ष लक्ष्मी खनाल आफू पनि ५ रोपनी जग्गामा डल्ले खुर्सानी लगाएर कृषि उद्यममा जोडिएकी छन् ।
एकपटक लगाएको खुर्सानीले राम्रो भएमा तीन वर्षसम्म उत्पादन दिने गर्छ । हार्थोकमा पाल्पा रिब्दीकोट अकबरे केन्द्र संस्थागत बजारीकरण गरी ल्याएर किसानले बिक्री गर्न पाउँछन् ।
संकलन केन्द्रमा गुल्मीको कालीगण्डकी गाउँपालिकादेखि स्याङ्जबाट पनि खुर्सानी आउने गर्छ ।
२०० ग्रामदेखि ८ क्विन्टलसम्म ल्याउने किसानका खुर्सानी संकलन गरिएको छ ।
यहाँ अहिले दैनिक ट्रकमार्फत रूपन्देहीको स्पाइसी (पिरो) चाउचाउ उत्पादन गर्ने यसोदा फूडस प्रोडक्स, पोखरा र काठमाडौंसम्म जाने गरेको संकलन केन्द्रका व्यवस्थापक रञ्जित कुँवर बताउँछन् ।

किसानले प्रतिकेजी २६० रुपैयाँ बिक्री गर्दै आएका छन् । तीजदेखि तिहारसम्म उत्पादन दिने खुर्सानीको एउटा बिरुवाबाट ३ किलोसम्म फल्ने गरेको छ ।
यो सिजनमा मात्रै रिब्दीकोटमा खुर्सानी बिक्री गरेर ७ करोड भित्रिएको छ । अझै ४ करोडसम्मको खुर्सानी उत्पादनमा रहेको किसानको भनाइ छ ।
वि.सं. २०७८ मा इलामबाट बिउ ल्याएर शुरू गरिएको खुर्सानी खेती अहिले पाल्पाका सबैजसो पालिका, गुल्मी, अर्घाखाँची र स्याङ्जामा पनि फैलिएको छ ।
रिब्दीको खुर्सानीको माग विदेशबाट आए पनि विभिन्न प्राविधिक समस्याले गर्दा किसानले पठाउन सकेका बताउँछन् ।
अहिले अकबरे खुर्सानी खेती नेपालको ५२ जिल्लामा फैलिएको छ ।
केही वर्ष अघिसम्म खेतीबारीमा बाँदर डुल्न थालेपछि हैरान भएर गाउँलेहरू हैरान भएका थिए ।
बसाइँसराइ पनि हुँदा भएका केही घरले बाख्रा चराउँथे, बनमारा र झाडीले ढाकेको थियो ।
वि.सं. २०८७ मा शिक्षक जनक आचार्यले खुर्सानी खेती गर्न सकिन्छ कि भनेर खुर्सानी खेती अभियान शुरू भएको संकलन केन्द्र व्यवस्थापक रञ्जित सुनाउँछन् ।

आचार्यले पहिलो वर्ष झाडी फाँडेर गरिएको खेतीबाट राम्रो आम्दानी लिएपछि पालिकामा अभियान नै शुरू भएको बताए । पालिकाबाट ४ हजार केजीसम्म खुर्सानी निकास हुने गरेको छ ।
खुर्सानी खेतीका लागि अनुदान, बिउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण, पोखरी निर्माण र प्राविधिक सहयोग गर्दै आएको र सहकारीले उत्पादनको बजारीकरण गरिदिएको छ, जसबाट किसानलाई सहज पनि भएको छ ।
विगतमा अदुवाले चर्चा पाउने रिब्दीकोटका किसानले अहिले खुर्सानीबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
रिब्दीकोट गाउँपालिकामा अकबरेबाट ६ देखि १० करोडसम्म नगद भित्रिने गरेको बताइएको छ ।
खुर्सानी विस्तारका लागि गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा शुरू भएको अकबरे खुर्सानी खेतीबाट हरेक वर्ष किसानले गर्ने आम्दानी बढेको अध्यक्ष कार्कीको भनाइ छ, जसमा कृषकलाई उचित बिउको प्रबन्ध, सिँचाइको सुविधा, प्राविधिक ज्ञान दिने हो भने अकबरे खेती थप विस्तार हुने देखिन्छ ।
निम्न आयस्तर भएको परिवारलाई यो खेती थालेपछि घर खर्च चलाउन समस्या छैन ।
कृषिमा किसान र नागरिकलाई आत्मनिर्भरता र कृषि क्रान्तिमा सशक्त बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न खुर्सानी खेतीले हौसला दिन सफल भएको अध्यक्ष कार्कीको भनाइ छ ।
वि.सं. २०७८ मा शुरू भएको अकबरे खेती अहिले पाल्पाका धेरैजसो गाउँमा विस्तार भइसकेको छ ।
यसरी स्वदेशमै उद्यम प्रवर्द्धन हुँदा पाल्पाको खुर्सानीले निकै ठूलो चर्चा पाएको छ ।
रिब्दीकोट नेपालकै धेरै क्षेत्रमा एकसाथ खुर्सानी खेती गर्ने पालिका बनेको किसानहरूको दाबी छ ।
अहिले धमाधम खुर्सानी टिप्ने बेला भएको छ । किसान खुर्सानीप्रति आकर्षित हुनुको कारण सुहाउँदो हावापानी, राम्रो उत्पादन, राम्रो मूल्य र बजार पाउनु रहेको छ ।
अकबरेको खेती उच्च पहाडमा सजिलै खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डिग्री र रातिको तापक्रम १५–२० डिग्रीसम्म तापक्रम उपयुक्त हुने किसानहरू बताउँछन् ।
खुर्सानी अभियानले गाउँबाट बसाइँसराइ पनि रोकिने पालिकाले अपेक्षा गरेको छ ।