हिले, धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेमा दुर्गामणि पौडेलले किबी प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् ।
उनले एकल लगानीका करिब दस करोड रुपियाँ लगानी गरी उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योग स्थापना भएपछि धनकुटासहित कोशी पहाडका किबी उत्पादन कृषकलाई बजारको समस्या हटेको छ ।
गाउँमा उत्पादन भएको किबीलाई गाउँमै खपत गर्न स्थानीय पौडेलले उद्योग सञ्चालनमा ल्याए ।
वसन्तपुर तिनजुरे बवरेजले करिब दस करोड रुपियाँ खर्च गरी उनले तोरीबारी गाउँमा किवीको प्रशोधन उद्योग निर्माण गरी तिनजुरे किबी बगान वाइन उत्पादन शुरु गरेका हुन् ।
जन्मगाउँ मारेकटहरे नै भएपनि उनी २०५४ सालबाट काठमाडौँमा बसोबास गर्दै आएका थिए ।
तर, उनी २० वर्षपछि गाउँ फर्किएर किबी प्रशोधनमा लागेका छन् । २०७४ सालबाटै प्रक्रिया सुरु गरिए पनि यो वर्षबाट मात्र उत्पादन शुरु भएको हो ।
गाउँमै रोजगारी सिर्जना, तथा पूर्वी पहाडका सबै जिल्लाका किबी उत्पादन कृषकलाई सहज हुने भएकाले उद्योग शुरु गरेको उनको भनाइ छ ।
फागुन महिनाबाट उत्पादन बजारमा आउने तयारी छ । अहिले उद्योगले ४० हजार लिटर उत्पादन गरिरहेको छ ।
उद्योगको कुल क्षमता तीन लाख लिटर रहेको र तीन वर्षभित्र पूर्ण क्षमतामा पुग्ने लक्ष्य राखिएको छ ।
पूर्ण क्षमतामा पुगेपछि बर्सेनि ५०० टन किबी खपत हुने कम्पनीको अनुमान छ । महालक्ष्मी नगरपालिकाले यस क्षेत्रलाई किबी पकेट क्षेत्र घोषणा गरिसकेको छ ।
उद्योग सञ्चालन भएपछि स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जना, बजारको समस्या हटेको र गाउँको समग्र आर्थिक गतिविधि सक्रिय बन्दै गएको महालक्ष्मी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदम रखाल मगर बताउँछन् ।
कम्पनीको आफ्नै करिब १०० रोपनीमा किबी खेती छ भने गाउँभरि करिब ५०० रोपनीमा किबी खेती विस्तार भएको छ ।