Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवा खेमालाई साझा उम्मेदवार छान्न सकस, ७ भाइका ५ सहित ६ आकांक्षी

- shuvadmin / शुक्रबार, मङि्सर २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पुस मसान्तका लागि घोषित नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व ‘हत्याउने’ दौड शुरू भएको छ । पार्टीको १५औं महाधिवेशनबाट सभापति बन्ने आकांक्षा पालेर नेताहरू तयारीमा जुटेका छन् ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका नेता डा. शेखर कोइराला सभापति बन्ने दौडमा शुरूमै निस्किएका थिए ।

डा. कोइरालापश्चात महामन्त्री गगनकुमार थापाले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् ।

१४औं महाधिवेशनमा एकै टीमबाट सभापति र महामन्त्री उठेका डा. शेखर/गगनले पार्टीको आसन्न महाधिवेशनमा प्रतिस्पर्धाको मैदानमा उत्रने स्पष्ट पार्दा सभापति शेरबहादुर देउवा खेमाबाट उम्मेदवार को हो भन्ने प्रश्न उठेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक ‘सात भाइ’ समूहको नामले परिचित नेताहरू पनि सभापति बन्न दौडिएका छन् ।

नेताहरू कृष्ण सिटौला‚ विमलेन्द्र निधि‚ प्रकाशमान सिंह‚ डा. शशांक कोइराला‚ विजयकुमार गच्छदार‚ गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतमध्ये गच्छदार र डा.महतबाहेक सबै सभापतिको आकांक्षी छन् ।

डेढ महिना लामो रस्साकस्सीपछि सोमबार कांग्रेसले पुस १६ देखि वडाबाट शुरू गरेर पुस २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्‍यो ।

उक्त कार्य तालिका आएपश्चात नेताहरू महाधिवेशनको तयारीमा जुटेका हुन्। इतर समूहबाट दुईजनाले सभापति लड्छु भनिसक्दा संस्थापन समूहबाट को उम्मेदवार भन्ने निष्कर्ष निस्किएको छैन ।

‘समूहबाट एकजना मात्र उम्मेदवार बन्नुपर्छ भनेर हामी छलफलमै छौं‚’ सभापतिका आकाङ्क्षी नेता विमलेन्द्र निधि भन्छन्‚ ‘छलफलको प्रारम्भ भएको छ । समय बाँकी नै छ।’

संस्थापनबाट सभापति बन्न दौडिरहेका ६ नेता

संस्थापन पक्षबाट ६ जना आकाङ्क्षी देखिएका छन्। उनीहरू सबै देउवालाई रिझाउने र पार्टी नेतृत्वमा पुग्ने दाउमा देखिन्छन् ।

कार्यवाहक सभापति खड्कासहित सात भाइको समूहबाट विशेषगरी पाँच नेताले सभापति बन्छु भन्दै लागिपरेर उम्मेदवार बन्ने आकाङ्क्षा देखाएको समूहका एक नेताले बताए ।

खड्काबाहेक १३ औं महाधिवेशनमा सभापति लडेका नेता कृष्ण सिटौला र १४ औं महाधिवेशनमा सभापति लडेका विमलेन्द्र निधि तथा प्रकाशमान सिंह मुख्य दाबेदार छन् ।

यस्तै, १३ औं महाधिवेशनबाट महामन्त्री जितेका बीपीपुत्र नेता डा. शशांक पनि आकांक्षी नै रहेका छन् ।

स्रोतका अनुसार २३ र २४ को जेनजी विद्रोहअघि देउवा टीमबाट निधि‚ सिटौला र शशांकले अति नै घनिष्ठ सम्बन्ध बनाएका थिए ।

देउवाले निकटहरूसँग ‘पूर्णबहादुरको व्यक्तिगत भोट कम छ‚ मेरै मात्र भोटले कसरी जित्ला र !’ समेत भनेपश्चात यी नेताहरू खड्काको विकल्प ‘म हो’ भन्दै देउवालाई फकाउन लागिपरेका थिए ।

नेता कृष्ण सिटौलाले आफूले १४ औं महाधिवेशनमा निस्वार्थ सहयोग गरेकाले उत्तराधिकारी आफूलाई तोक्न माग गर्दै आएका छन् ।

यता‚ निधिले पनि लामो समय देउवालाई साथ दिएको तथा १४ औं महाधिवेशनको दोस्रो चरणमा सहयोग गरेको भन्दै आफू सभापतिको स्वाभाविक उम्मेदवार भएको बताउँदै आएका छन् ।

देउवाले मैदान खाली गरेपछि सिटौला सभापति बन्छु भनेर लागेका छन् ।

‘सिटौलाजीले के गर्ने स्पष्ट भन्नुभएको छैन । तर‚ उहाँ उम्मेदवार बन्नुहुन्छ भन्ने हामीलाई लागेको छ‚’ उनीनिकट नेता भीमसेनदास प्रधान भन्छन्‚ ‘देउवाजीसँग छलफल र संवाद गरेर मात्र अघि बढ्नुहुन्छ भन्ने लागेको छ।’

देउवाकै सहयोगमा डा. शशांक पनि आफू सभापति लड्न तयारै छन् ।

तर‚ पछिल्लो अभिव्यक्तिले भने उनको दाबेदारी के हुने भन्ने प्रश्न जन्माएको छ । ‘डा. शेखर दाइसँग कुरा हुँदैछ । दुई जनामध्ये एक मात्र सभापतिमा लड्छौं,’ डा. शशांकले चितवन पुगेर भनेका थिए ।

यसबाहेक प्रकाशमान र गोपालमाले पनि आफूलाई उम्मेदवारको रूपमा अघि बढाएकै छन् ।

‘कार्यवाहक सभापतिसहित कृष्ण दाइ‚ विमल दाइ‚ डा. शशांक दाइ र प्रकाशमान दाबेदार बनेर आएका छन्‚’ देउवा खेमाका एक प्रभावशाली नेताले भने‚ ‘गोपालमानले देउवापश्चात म सिनियर भनेर पटक/पटक भन्दै आइरहेकै छन् ।

समूहको बैठकहरूमा डा. महत र गच्छदारले भने आफूलाई सभापतिको दाबेदार भनेका छैनन् ।

गच्छदारले एक नाममा सहमति हुने हकमा आफू त्याग गर्न तयार रहेको बताउने गरेका छन् । १४ औं महाधिवेशनमा उनी देउवा समूहबाट उपसभापति लडेपनि पराजित भएका थिए ।

यता, अर्का नेता डा. महतले पनि स्पष्ट रूपमा आफूलाई सभापतिको रूपमा प्रस्तुत नगरेको स्रोत बताउँछ । महत १४ औं महाधिवेशनमा संस्थापनबाट महामन्त्री लडेर पनि पराजित हुनुपरेको थियो ।

उहाँ दुईजनाले अन्य नेताहरूजस्तो सभापति हुन्छु भन्नुभएको छैन । विजय दाइले त्याग गर्छु भन्नुभएको छ भने प्रवक्ता पुनः महामन्त्री वा उपसभापति लड्ने दाउमा भएको हामीले बुझेका छौं,’ स्रोतले भन्यो ।

तर, सभापतिका आकाङ्क्षी नेता निधि समूहमा बसेर सबैले आ-आफ्नो आकाङ्क्षा राख्ने चरणमा आफूहरू रहेको बताउँछन् ।

‘शुरूआतमा हामी तीन (डा. शंशाक‚ प्रकाशमान‚ विमलेन्द्र)ले यस विषयमा छलफल गर्दै आयौं । त्यसपश्चात साथीहरू जोडिएर ७ पुग्नुभयो ।

अहिले त हाम्रो समूहमा सभापति भन्नेबाहेक ९० बढी केन्द्रीय सदस्यहरू पनि हुनुहुन्छ‚’ निधिले थपे‚ ‘मलगायत साथीहरू स्वाभाविक दाबेदार हुनुहुन्छ । पहिले क्रियाशीलको विषय मिलोस्, त्यसपश्चात् बाँकी मिल्दै जान्छ।’

साझा उम्मेदवारको दबाब,सम्भावना कति ?

गएको सोमबार बिहान सभापति देउवानिकट नेताहरू उनलाई भेट्न धुम्बाराही पुगेका थिए ।

वैशाखअघि महाधिवेशन गर्न नहुने अडान पुगेका नेताहरूलाई सभापति देउवाले पुसको महाधिवेशनमा सहमति जनाउन निर्देशन दिए । उक्त बैठकमा नेताहरूले सोधेका थिए, ‘समूहबाट अबको सभापति को हो ? ’

जवाफमा देउवाले आफूले कसैलाई वचन नदिएको भन्दै एक जनाको नाम लिएर आउन भनेका थिए ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार देउवाले वचन दिँदै भनेका थिए– ‘तिमीहरूले सहमति गरेर जसको नाम लिएर आउँछौ, म उसैलाई सभापतिमा सहयोग गर्न तयार छु।’

त्यसको भोलिपल्ट अर्थात् मंगलबार गौशालामा बसेको समूहको बैठकले सात भाइ र कार्यवाहक सभापति मिलेर एकजना मात्र उम्मेदवार बन्न अनुरोध गरेका थिए ।

परिस्थिति फरक रहेको तथा प्रतिस्पर्धीहरू आक्रामक बनेको अवस्थामा फुटेर हैन, जुटेर जानुपर्ने उनीहरूको सुझाव थियो। ‘

जुनसुकै हालतमा तपाईंहरू मिल्नुहोस् । मिल्नुभएन भने तपाईंहरू पनि सकिनुहुन्छ र हामी पनि सकिन्छौं भनेर हामीले भन्यौं‚’ एक नेता भन्छन्‚ ‘मिल्नुभएन भने हामी उम्मेदवार छान्न बाध्य हुन्छौं भनेर दबाब दिएका छौं ।’

समूहकै नेताहरू सभापति देउवाको सहयोग सद्भावविना महाधिवेशन जित्न नसक्ने भएकाले नेताहरू मिल्नुको विकल्प नभएको बताउँछन् ।

एकले अर्काको अस्तित्व स्वीकार गर्न नसके समूह इन्ट्याक्ट पनि नरहने र देउवाले पनि सहयोग नगर्ने बुझाइ यो समूहको छ ।

केही समयअघि नेता बालकृष्ण खाँणले १६ औं महाधिवेशनमा यो समूह चाहिँदैन ? भन्दै प्रश्न गरेका थिए । अर्थात् १५ औं महाधिवेशनमै टीम तितरबितर भए समूहको भविष्य के हुन्छ ? भन्ने उनको प्रश्न थियो ।

‘बुढाहरूलाई समूह नचाहिए पनि हामीलाई त चाहिन्छ नि‚’ अर्का एक नेता भन्छन्‚ ‘त्यसैले सात भाइलाई इन्ट्याक्ट राख्न पनि मिहिनेत गर्नुपरेको छ ।’

सिटौलानिकट नेता भीमसेनदास प्रधान पनि सभापति देउवाको साथ सहयोग नपाए महाधिवेशनबाट नेतृत्वमा पुग्न सहज नहुने स्वीकार्छन् । त्यसैले पनि समूह एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।

अर्का नेता विमलेन्द्र निधि यसपटकको महाधिवेशन विगतजस्तो सहज नहुने स्वीकार गर्छन् ।

शीर्ष नेताले सभापति पदका लागि चुनाव लडिसकेको अनुभव हासिल गरेको भन्दै उनले यसपटक मिलेर एकजना उम्मेदवार दिनुको विकल्प नभएको बताए ।

‘आकाङ्क्षी हामीहरूमध्ये एकजना उम्मेदवार बन्नुपर्छ‚’ निधिले थपे‚ ‘हामी ७/८ जना मात्र होइन, हामीसँग जोडिएका ९० बढी केन्द्रीय नेताहरूको चाहना पनि हामी मिल्नुपर्छ भन्ने छ ।

साझा उम्मेदवार हामीले दिनुपर्छ र त्यसका लागि हामी छलफलमा छौं ।’

Page Views: 33
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama