काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दू आफू भएको बताएका छन्।
आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग सम्पर्क कार्यालयमा भएको भेटघाटमा आफू लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।
कोरोना महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे।
उनले भने, ‘देश र कांग्रेस अत्यन्तै कठिन मोडमा उभिएको छ। पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो छ।
सयौँ योद्धा र युवाहरूको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ। पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।’
जिल्ला–जिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्याउनु भएको योगदानको सधैँ उच्च कदर हुने बताए।