सिमरा, केही वर्षयता निर्माण सामग्रीमा विदेशी परनिर्भरतालाई अन्त्य गर्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ पक्की घरका लागि आवश्यक वाल टायललगायत अन्य वस्तु नेपालमै उत्पादन हुन थालेका छन्।
यससँगै विदेशी टायलको परनिर्भरता घट्दै गएको छ।
यसैबीच बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा नेपाल र भारतीय संयुक्त लगानीमा नेपोभिट टायल प्रालि सञ्चालनमा आउन लागेको हो।
उक्त उद्योगमा भारतको एसियन ग्रानिटो इन्डिया लिमिटेडको लगानी रहेको छ। उद्योगको उत्पादन प्लान्ट पूर्वाधार निर्माणको कार्य लगभग सकिएको नेपोभिटले जनाएको छ।
सिभिल काम लगभग पूरा भइसकेको छ। हाल मेसिन जडानको काम भइरहेको र उद्योग चाँडै सञ्चालनमा आउने अनुमान गरिएको छ।
उद्योगको लागत बढेर एक अर्ब ५२ करोड ६० लाख रुपैयाँ पुगेको छ। यसअघि एक अर्ब १० करोड रुपैयाँ अनुमानित लागत रहेको थियो।
क्षमता विस्तारका कारण उद्योगको लागत झण्डै ३८ करोड रुपैयाँ बढेको छ। २५ प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) र ७५ प्रतिशत ऋण हुने गरी लगानी संरचना बनाइएको छ।
हालसम्म संस्थापकको तर्फबाट ३० करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी भइसकेको छ। यस्तै ऋण लगानी व्यवस्थापन पनि भइसकेको उद्योगले जनाएको छ।
उद्योगले वार्षिक विभिन्न आकारका ४५ लाख ९० हजार बक्स वाल टायल उत्पादन गर्ने भएको छ।
यसअघि वार्षिक २८ लाख ५० हजार बक्स वाल टायल उत्पादन गर्ने लक्ष्य भएकोमा क्षमता दोब्बर बढेको छ।
दैनिक साढे सात हजार बक्स वाल टायल उत्पादन गर्ने भनिएकोमा दोब्बर बढेर १५ हजार बक्स पुगेको छ।
संरचनाहरूको विस्तार, मेसिनरी लेआउटमा संशोधन, भण्डारण सुविधाहरूको वृद्धि र सम्बन्धित सहयोगी पूर्वाधारको विकास गरिएको छ।
सिरेमिक उद्योगबीच तीव्र प्रतिस्पर्धा छ। एसियन ग्रानिटो भारतको सबैभन्दा ठूलो समूहहरू मध्ये एक हो।
जसको विश्वव्यापी उपस्थिति एक सय भन्दा बढी देशहरूमा छ।
नेपोभिट र एसियन ग्रानिटो ‘एजीएल’ ट्रेडमार्कअन्तर्गत वाल टायल, सेनेटरी वेयर र सीपी फिटिङहरूको निर्माण र बिक्रीको लागि एसियन ग्रानिटोसँग इजाजतपत्र सम्झौता गर्ने प्रक्रियामा छ।
भारतीय एजीआईएलले उत्पादन र सञ्चालनसँग सम्बन्धित मार्गदर्शन र पर्यवेक्षण प्रदान गर्नुका साथै उत्पादन प्लान्ट सञ्चालन गर्न एनसीपीएललाई सहयोग गर्ने भएको छ।
नेपोभिटले लाइसेन्स सम्झौताअनुसार एसियन ग्रानिटो र उसका सहयोगी कम्पनीहरूलाई एजीएल ट्रेडमार्कअन्तर्गत वाल टाइल, सेनेटरी वेयर र सीपी फिटिङहरू बिक्री र निर्यात गर्नेछ।
एजीएल जस्तो प्रतिष्ठित ब्रान्ड नामसँग आबद्ध हुनुले नेपोभिटलाई मार्केटिङ सहायताको थप लाभ र पहिले नै व्यापक ब्रान्ड पहिचान प्रदान गर्ने सम्भावना छ।
जुन मध्यम अवधिमा यसको व्यवसायको लागि राम्रो सम्भावना हो। एनसीपीएलमा श्री शम्भुनाथ झाको अध्यक्षतामा चार जना सञ्चालक समिति छ।
झाको फिटिङ वस्तुहरू, हार्डवेयर, सेनेटरी, बाथरूम, प्लम्बिङ र फिनिसिङ सामानहरूको आयात र व्यापारमा २५ वर्षभन्दा बढीको अनुभव छ।
निर्माण उद्योगमा १० वर्षभन्दा बढीको अनुभव छ। उनी मयुर फसेट्स प्राइभेट लिमिटेडमा कार्यकारी अध्यक्ष छन्।
नेपाल सिरेमिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडमा पनि निर्देशक छन्।
यस्तै निर्देशक मनोजप्रसाद रौनियारसँग फ्लोरी टायल, हार्डवेयर, सेनेटरी, बाथरूम, प्लम्बिङ र फिनिसिङ सामानहरू आयात र व्यापारमा २५ वर्षभन्दा बढी अनुभव छ।
उनी नेपाल हिल टेक प्राइभेट लिमिटेड र हिमाल इम्पेक्स चितवनमा निर्देशक हुन्। यस्तै नेपाल स्टोनेक्स प्राइभेट लिमिटेडका अध्यक्ष पनि हुन्।
उद्योगको उत्पादन कारखाना बाराको सिमारा सेजमा निर्माण भैरहेको छ। उद्योग वीरगञ्जनजिकै रहेको छ।
नेपोभिटले भारतबाट कच्चा पदार्थ आयात गर्नेछ र तयारी उत्पादन भारतमा निर्यात गर्नेछ। भारतीय सीमासँग कारखानाको निकटता भाडा लागत बचतको सन्दर्भमा थप फाइदाको रूपमा रहेको छ।
देशमा सेरामिक वाल टाइल उत्पादनहरूको माग मध्यम अवधिमा बढ्ने अपेक्षा गरिएको छ।
नेपालमा हरेक वर्ष ठूलो संख्यामा क्रंकिट घर र भवनहरू निर्माण भैरहेका छन्, जसले पुराना खर र माटोका घरहरूलाई प्रतिस्थापन गर्दैछन्।
यस्तो अवस्थामा सार्वजनिक साथै निजी पूर्वाधार र अन्य सार्वजनिक सुविधाहरू विकास गर्न सिरेमिक टायलसहित निर्माण सामग्रीको माग बढ्ने सम्भावना छ।