काठमाण्डू, स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ ।
विगत तीन दिनदेखि प्रतितोला दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको छ ।
गत आइतबार एक तोला छापावाल सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो।
सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।