आज हरेक वर्ष झैं वैशाख शुक्ल तृतीयाका दिन सातु र सर्वत दान एवं सेवन गरी अक्षय तृतीया पर्व मनाइँदैछ । बिहान सबेरै उठि नुहाएर पूजा सामग्री तयार पारेर दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिने शास्त्रीय परम्परा रहेकाे छ ।
त्यसैगरि पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा समेत रहेकाे पाइन्छ । आज गरेकाे दान, धर्म, ध्यान जप कहिल्यै नास नहुने विभिन्न पुराणमा वर्णन गरिएको छ ।
अक्षय तृतीयाका दिन मात्र नभइ जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शक्तिसमेत प्राप्त हुने भएकाले पनि यी चिजहरुकाे महत्व रहेकाे हाे ।
वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने अक्षय अर्थात् कहिल्यै नास नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो । आजको दिन दान गरिने घडालाई धर्मघटादि दान समेत भन्ने गरेकाे पाइन्छ । आज बूढाबूढी, असहाय एवं विपन्न वर्गलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन रहेकाे छ ।
आजकै दिन सत्ययुगमा आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ भने साेहि अनुसार विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता समेत रहेकाे छ । त्यसैगरि त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि सुरु भएको शास्त्रीय वचन छ ।
आज पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ भने शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउने गर्दछन् ।