आज शान्तिका अग्रदूत भगवान् सिद्धार्थ गौतमको २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । बुद्धको पूजा, आराधना एवं प्रवचन गरी २५७०औँ जन्म जयन्ती मनाउन लागिएकाे हाे ।
बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएकाे योगदानको स्मरणस्वरुप हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने परम्पार रहेकाे छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।
आजभन्दा २५७० वर्षअघि इसापूर्व ५६३ अर्थात् रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।