इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर)का लागि आवेदन माग भएको छ । इजरायलसँगको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले २ हजार ३ सय संख्यामा केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । श्रम सम्झौताअनुसार आगामी जेठ १७ गतेदेखि असार ७ गतेसम्म इच्छुकले आवेदन दिन पाउने विभागले जनाएको छ ।
इजरायल जानका लागि २५ देखि ४५ वर्ष ननाघेको उमेर समूहले आवेदन दिन सक्नेछन् भने अन्य विभिन्न मापदण्ड पनि तोकिएको छ । जसमा १.५ मिटर उचाइ, कम्तीमा ४५ किलोग्राम तौल, कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमई सम्बन्धी विषयमा कम्तिमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ पास वा सो सरहको शैक्षिक योग्यता पूरा गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर (कम्तीमा ३ महिना)को तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ ।
त्यसका साथै विगतमा इजरायल गई काम नगरेको हुनुपर्ने छ भने बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसेको वा काम नगरेको समेत मापदण्ड तोकिएको छ । त्यसैगरि शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको, गह्रौ सामान उचाल्न सक्ने लगायत स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कार्य गर्न सक्ने हुनुपर्नेछ । आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी हुनुपर्नेछ ।
त्यसैगरि त्यस्तै आधारभूत तहको अंग्रेजी भाषालाई समेत अनिवार्य गरिएको छ । उम्मेदवारले अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रका रुपमा इजरायलको पीबाले तोकेको त्रिपुरेश्वरमा रहेको सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनबाट लिइएको क्याम्ब्रिज अपस्किल इन्टनेसनल अंग्रेजी टेस्ट कम्तीमा रिडिङ– ए २, राइटिङ–ए १, लिसनिङ–ए २, स्पिकिङ–बी २ भएको प्रमाण पत्र अपलोड गर्नुपर्नेछ ।
छनौट भएर जाने केयरगिभरले मासिक ६ हजार ४ सय ४३.८६५ इजरायली सेकेल अर्थात् नेपाली रुपैयाँ करिब ३ लाख ४८ हजार पाउनेछन् भने हप्तामा ६ दिन काम गर्नुपर्ने र प्रतिहप्ता न्युनतम ४२ घण्टा काम गर्नुपर्नेछ । ओभरटाइम सुविधा समेत हुने भएकाले इजरायली सरकारको नियमानुसार अतिरिक्त भत्ता पाउनेछन् । खानाको लागि कामदार स्वयम्ले व्यहोर्नु पर्नेछ भने आवासको व्यवस्था रोजगारदाताले गरिदिने छ । सुरुमा करार अवधि १ वर्षको हुनेछ, त्यसपछि अधिकतम करार अवधि ५ वर्षसम्म हुनेछ ।