आज परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री खनाल दिउँसो साढे २ बजे भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल नयाँदिल्ली जान लागेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री खनालको भ्रमणबारे जानकारी गराएको हो ।
खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । भेटमा नेपाल र भारतबिचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै दुई देशबिचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबिचको सम्बन्धलाई थप सुदृढ र विस्तारबारे विस्तृत रूपमा विचारविमर्श हुने कार्यसूचीमा उल्लेख छ ।
नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले जनाएकाको छ । मन्त्री खनाल आइतबार स्वदेश फर्कने छन् ।