सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । भट्ट र अग्रवाल दुवैलाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधवार थुनामा पठाउने आदेश दिएको हो ।
अदालतको आदेशसँगै डिल्लीबजार कारागार चलान गरिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।
उक्त मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी रहेकाे छ भने भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । त्यसैगरि अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो ।
यसअघि प्रहरीले भट्टलाई गत २०८२ चैत १९ गते र अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको थियो ।