हरेक वर्ष असार १५ गते मनाइने धान दिवस यस वर्ष पनि मनाइँदैछ । आज असार १५ गते खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाइँदैछ ।
कामको चटारोले थकित भएका किसान शक्ति सञ्चय हुने विश्वासका साथ दही चिउरा खाने चलन रहेकाे छ । साेहि अनुसार असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ ।
नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण रहेकाले शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा रहेकाे छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
त्यसैगरि असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन ।
सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेसँगै राष्ट्रिय धान दिवस मनाउन थालिएकाे नेपाली समाजमा हरेक वर्षकाे असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । असार १५ गते राष्ट्रिय धान दिवसका दिन रोपाइँ महोत्सव पनि मनाउने चलन रहेकाे छ ।