दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिब ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराकाे जाेखिम देखिएका सात जिल्लामा खोप अभियान मार्फत बालबालिकालाई खोप प्रदान गरिएको हाे ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जनाएका छन् । उक्त सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको हाे ।
त्यस्तै अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको गाैतमकाे भनाइ रहेकाे छ । सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ जेठको अन्तिम सातादेखि असार १० गतेसम्म सञ्चालन गरेको थियो ।
जसअनुसार सर्लाहीमा १० हजार २५४, सिराहा २ हजार ५५०, महोत्तरीमा ७७ हजार ९७, बागलुङमा ५ हजार ९५०, कालीकोटमा ४१६, सुर्खेतमा २ हजार ६७ र जाजरकोटमा ३ हजार ८०० जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको थियाे । उक्त जिल्लाहरुकाे दादुराको प्रकोप देखिएको स्थानीय तहका वडामा मात्र खोप अभियान सञ्चालन गरिएको हाे ।
दादुरा सङ्क्रामक रोग भएकाे र एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्ने भएकाले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको पनि शाखा प्रमुख डा. गौतमले जानकारी दिएका छन् ।