असार महिना सकिनै लाग्दा देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार यस वर्ष हालसम्म ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको हाे ।
कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको बताइएकाे छ । गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ सकिएकाे थियाे ।
विभागका अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत धान रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत, कोशीमा ३२ प्रतिशत र मधेसमा ३२.७ प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ ।
अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ बढ्ने अपेक्षा सहित विभागले बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने जनाएको छ ।