नागढुङ्गा सुरुङमार्गमा सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ गरिएको छ । नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो ।
सुरुङमार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना गरिएकाे नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले जानकारी दिएका छन् । नागढुङ्गा–नौबिसे सुरुङमार्ग दुई हजार ६८८ मिटर लम्बाइ रहेको छ ।
आयोजनाको सुरुआती ठेक्का सम्झौताअनुसार सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो काममा ढिलाइ भएको हो । आयोजना निर्देशक नेपालले साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएका छन् ।
काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन् । आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिनेमध्ये ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिएका छन् ।
आयोजनाले यो सुरुङमार्ग हुँदै दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन नपाइने जनाएकाे छ ।