नेपाली सेनाले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई फेला पारेको छ । आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जंगलमा बेल्डाडी गाउँपालिका–२, का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल फेला पारेको हाे ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले उनिहरुलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको थियाे ।
बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेकाे सेनाले जनाएकाे छ । त्यसैगरी शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेको १४ जना महिलाको समूह सम्पर्क विहीन रहेका छन् । रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीकार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिलाहरु च्याउ खोज्न निकुञ्ज प्रवेश गरेकाे भएपनि निकुञ्जभित्र सम्पर्क विहीन भएकाले उनिहरुकाे खोजी भइरहेको बताइएकाे छ ।