काठमाण्डू, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले बिहीबार पुनरावलोकनका लागि अनुमति दिने आदेश जारी गरेको हो।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिने फैसला गरेको थियो।
उक्त फैसलाविरुद्ध कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ले छुट्टाछुट्टै पुनरावलोकन निवेदन दायर गरेका थिए।
पूर्ण इजलासले दुवै निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै पुनरावलोकनको अनुमति दिएपछि अब यसअघि भएको फैसलामाथि पुनः विस्तृत न्यायिक सुनुवाइ हुने भएको छ।
यससँगै उक्त मुद्दाको अन्तिम टुंगो पुनरावलोकन प्रक्रियापछि मात्रै लाग्नेछ।
सर्वोच्च अदालतको पछिल्लो आदेशले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई पुनः न्यायिक परीक्षणको चरणमा पुर्याएको छ।
अब पुनरावलोकन सुनुवाइपछि आउने अन्तिम फैसलाले पार्टीको आधिकारिकतासम्बन्धी कानूनी विवादमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।