देशकाे विभिन्न स्थानमा परेकाे अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा यातायात अवरुद्ध भएको जानकारी दिएकाे हाे ।
जसअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातयात संचालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँँझ ६ बजेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ ।
त्यसैगरि मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । प्रहरीका अनुसार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको हाे ।
इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडकमा अत्यधिक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको र उक्त क्षेत्रमा वैकल्पिक सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको अरनिको राजमार्ग विभिन्न स्थानमा पहिरोका कारण प्रभावित भएको छ । भोटेकोशी गाउँपालिका–४, चारकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हाे । भोटेकोशी–२, कोदारीस्थित इकुमा ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि आवागमनसमेत रोकिएको छ ।
प्रहरीका अनुसार रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै पश्चिमतर्फ पनि वर्षाजन्य विपद्का कारण सडक यातायात प्रभावित भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै रुकुम पूर्वको भूमे गाउँपालिका–४, काडाबगर र भूमे–५, धौलापहिरामा मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण लमजुङमा पनि दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । मध्यनेपाल नगरपालिका–१०, बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग तथा बेँसीसहर नगरपालिका–६, खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएकाे छ ।
म्याग्दीको बेनी–जोमसोम सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने रघुगङ्गा गाउँपालिका–२, बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७, महभीरमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने, नदी तथा खोलाले सडक कटान गर्ने र सडक हिलाम्मे हुने क्रम बढेपछि विभिन्न क्षेत्रमा यातायात सञ्चालनमा समस्या देखिएको हो । प्रहरीले वर्षाका कारण जोखिमपूर्ण बनेका सडकमा सावधानी अपनाउन तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । अवरुद्ध सडकखण्डमा पहिरो तथा माटो हटाउने र सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।