यसअघि लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । यही भदौको अन्तिम सातादेखि नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने भएको हाे । उक्त सेवाका लागि निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको बताइएको छ ।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएका छन् । उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ ।
यसअघि भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घटेकाे र इन्धन खर्च बढेकाले गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको हाे । जसअनुसार आइतबार, बुधबार र शुक्रबार हप्ताकाे तीन दिन उडान हुनेछ ।
अब उडान पुनः सञ्चालन हुने भएसँगै टिकट बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । यसअघि स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।
नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको छ भने उडान पुनः सञ्चालन भएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने बताइएकाे छ ।